भारतीय पूर्वक्रिकेटर तथा चर्चित कमेन्टेटर सुनील गावस्कार पनि भारत र श्रींलकामा जारी आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठ प्रिसिडिङको विषयका कारण विवादमा परेका छन्।
टी ट्वान्टी विश्वकपको सुपर आठ चरणका दुई समूह सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सामाजिक सञ्जालमा तीव्र आलोचनाको सामना गरिरहेको छ। त्यसमा भारतीय पूर्वक्रिकेटर पनि थपिएको हुन्। ‘प्रिसिडिङ’ ढाँचाका कारण चारै समूह विजेता टोलीलाई एउटै समूहमा राखिएको छ भने उपविजेता टोलीहरू अर्को समूहमा परेका छन्। यस व्यवस्थाले उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नै ‘ग्रुप अफ डेथ’ मा पारिएको छ। दोस्रो स्थानमा रहेका टोलीहरूले तुलनात्मक रूपमा सजिलो प्रतिस्पर्धा पाउने अवस्था सिर्जना भएको आलोचकहरूको भनाइ छ। यसैबीच भारतीय क्रिकेटका लिजेन्ड गावस्करले अहिले यो विषय उठाउनुको औचित्यमाथि प्रश्न उठाएका छन्।
उनले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै अहिले यो विषय उठाउनु गलत रहेको धारणा राखेका थिए। ‘अहिले किन यो विषय उठाइँदै छ? विश्वकप सुरु हुनुअघि किन उठाइएन? अहिले प्रश्न उठाउनेहरूले पहिले किन चासो देखाएनन् भन्ने सोध्नुपर्छ। यसको कारण आइसिसीले नै राम्रोसँग व्याख्या गर्न सक्छ तर मेरो बुझाइमा प्रतियोगिता दुई देशमा भइरहेकाले व्यवस्थापन पक्ष जटिल छ,’ गावस्करले भनेका छन्। विश्वकपको खेलतालिका व्यवस्थापनको जटिलतालाई ध्यानमा राख्दै प्रिसिडिङ आवश्यक भएको तर्क उनको छ। कमेन्टेटर गावस्कारले अन्तर्राष्ट्रिय यात्रा, अध्यागमन प्रक्रिया, भन्सार जाँच, हवाई टिकट तथा होटल बुकिङजस्ता पक्षहरूलाई ध्यान दिनु अनिवार्य रहेको धारणा राखेका छन्।
‘सबै टोली समान संख्यामा सदस्य लिएर यात्रा गर्दैनन्। केही टोली १५ सदस्यीय सपोर्ट स्टाफसहित ३५–४० कोठा आवश्यक पर्न सक्छ। केही टोलीलाई कम कोठाले पुग्न सक्छ। यस्ता सबै पक्षलाई विचार गरेर प्रिसिडिङ गरिएको हुन सक्छ,’उनले थपे।
के हो सुपर आठको प्रिसिडिङ विवाद?
विवादको मूल कारण आइसिसीले सुपर आठमा टोलीको समूह विभाजनपछि सुरु भएको हो। सुपर आठको समूह चरणका खेल वास्तविक प्रदर्शनका आधारमा नभई विश्वकप सुरु हुनुअघिको वरीयताका आधारमा निर्धारण भएको हो। यस प्रणालीका कारण चारै समूह विजेता भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र दक्षिण अफ्रिका समूह ‘१’ मा परेका छन्। समूह ‘२’ मा भने सबै उपविजेता टोली पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड र न्युजिल्यान्ड समावेश छन्। आलोचकहरूका अनुसार यसले उत्कृष्ट प्रदर्शनलाई ‘दण्डित’ गरेको छ। किनकि शीर्ष टोलीहरूले प्रारम्भिक चरणमै एकअर्कालाई बाहिर गर्ने जोखिम बेहोर्नुपरेको छ।
त्यसै गरी दोस्रो स्थानमा रहेका टोलीहरूले सेमिफाइनल पुग्न सैद्धान्तिक रूपमा सहज बाटो पाएको दाबी गरिएको छ। तर, आइसिसीले भने प्रसारक र आयोजकलाई अग्रिम रूपमा यात्रा योजना, खेलस्थल निर्धारण र ‘प्राइम टाइम’ खेलतालिका सुनिश्चित गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।
यस विषयले क्रिकेट वृत्तमा निष्पक्षता र व्यवस्थापनबीच सन्तुलनबारे व्यापक बहस सुरु गरेको छ। विश्व चर्चित क्रिकेटर गावस्कारले आइसिसीको उक्त निर्णयप्रति बचाउ गरेपछि उनीमाथि पनि आलोचना सुरु भएको हो।
प्रकाशित: ११ फाल्गुन २०८२ ०६:१४ सोमबार