खेल

इलाम-सन्दकपुर रेडपान्डा म्याराथनमा गजेन्द्र पहिलो

इलाममा सञ्चालित रेडपान्डा म्याराथन गजेन्द्र राईले जितेका छन्। ४४.२ किलोमिटरको दूरी ४ घण्टा १२ मिनेटमा पार गरी उनी विजयी भएका हुन्।

विजेता बनेसँगै गजेन्द्रले नगद डेढ लाख रुपैयाँ जितेका छन्। चार घण्टा १३ मिनेटमा दूरी पार गरी दोस्रो भएका करण रावलले नगद एक लाख जितेका छन्। त्यस्तै चार घण्टा १९ मिनेटमा उक्त दूरी पार गरेका कर्णवीर रोका तेस्रो भएका छन्। उनले नगद ५० हजार हात पारे।

मंगलबार बिहान साढे ७ बजे इलाम बजारबाट सन्दकपुर डाँडासम्म म्याराथन भएको थियो। विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणबारे जनचेतना जगाउने उद्देश्यले दीपज्योति युवा क्लबले म्याराथन आयोजना गरेको हो। म्याराथनमा नेपाल र भारतका ६२ धावक सहभागी थिए।

यससँगै भएको महिलातर्फको प्रतियोगितामा विजयी निर्धारित स्थान पुग्दै छन्। ११ महिला धावक सहभागी रहेकामा विजयीले पुरुषसरहकै नगद पुरस्कार पाउने आयोजक संस्थाका राम रिमालले जानकारी दिए। 

प्रतियोगितामा सहभागी इलाम, पाँचथर र ताप्लेजुङका खेलाडीलाई भने स्थानीय धावकका रूपमा छुट्टै पनि मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने छ।

म्याराथनका विजेता बायाँबाट क्रमशः पहिलो, दोस्रो र तेस्रो। तस्बिर : भीम/नागरिक

प्रकाशित: १ पुस २०८२ १३:२७ मंगलबार