खेल

टीयूबाट घर फर्किन निःशुल्क बस सेवा, यस्ता छन् रुटहरू

त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आउने दर्शकहरूको सहजताका लागि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन्।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र क्यानको विशेष पहलमा आजदेखि खेल अवधिभरका लागि यो सुविधा सुरु गरिएको हो।

खेल सकिएपछि घर फर्किन सवारी साधन नभएका दर्शकहरू, विशेष गरी महिला, वृद्धवृद्धा र अशक्तहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको जनाइएको छ।

यो निःशुल्क यातायात सेवाका लागि ‘मुस्कान ट्राभल्स’ ले सहकार्य गरेको छ। बस सेवा आजैदेखि खेल अवधिभर हरेक दिन बेलुकी ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुनेछ।

दर्शकहरूले तल्लो टीयू गेट र ल्याब स्कुलको अगाडिबाट बस चढ्न सक्नेछन्।

सञ्चालन हुने रुटहरू:

रुट १: टीयू गेट – स्वयम्भू – बालाजु

रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज

रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल

रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

रात्रिकालीन खेलहरू (डे/नाइट म्याच) सकिँदा अबेर हुने र सार्वजनिक यातायात पाउन मुस्किल हुने गुनासो दर्शकहरूबाट आएपछि मन्त्री गुप्ताको सक्रियतामा यो व्यवस्था मिलाइएको हो।

प्रकाशित: ३ मंसिर २०८२ १८:५९ बुधबार