खेल

इन्फान्टिनोलाई फ्रान्सको समर्थन फिर्ता, अध्यक्ष डियालोले भने– ‘विश्वास टुट्यो’

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी वर्ष हुने पुनःनिर्वाचन अभियानलाई दिएको समर्थन फिर्ता लिएको छ। एफएफएफका अध्यक्ष फिलिप डियालोले विश्व फुटबलको सर्वोच्च निकायका प्रमुखप्रतिको विश्वास टुटेकाले समर्थन फिर्ता लिने निर्णय गरिएको बताएका छन्।

डियालोका अनुसार एफएफएफको कार्यसमितिले बिहीबार सर्वसम्मत रूपमा इन्फान्टिनोलाई समर्थन नगर्ने निर्णय गरेको हो। ‘फिफा अध्यक्षमाथि राखिएको विश्वास टुटेको छ। विश्व फुटबल कसरी सञ्चालन हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण र अहिले भइरहेको सञ्चालनबीच अब मेल छैन,’ डियालोले भने।

इन्फान्टिनो आगामी वर्ष फिफा अध्यक्षका रूपमा चौथो कार्यकालका लागि पुनःनिर्वाचनको तयारीमा छन्। तर, फिफा प्रतियोगितामा निजी लगानीकर्तालाई २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने उनको प्रस्ताव असफल भएपछि उनको नेतृत्वमाथि विभिन्न देशका फुटबल महासंघबाट आलोचना बढ्दै गएको छ।

फिफा विश्वकपलगायत प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव क्षेत्रीय महासंघहरूको व्यापक विरोधपछि गत जुलाईमा फिर्ता लिइएको थियो।

डियालोले फ्रान्सले जुनको अन्त्यतिर इन्फान्टिनोको उम्मेदवारीलाई समर्थन गरेको स्मरण गर्दै त्यतिबेला उनी एक मात्र घोषित उम्मेदवार रहेको बताए। तर त्यसपछि भएका घटनाक्रमले परिस्थितिमा ठूलो परिवर्तन ल्याएको उनको भनाइ छ।

‘हामीले उनको उम्मेदवारीलाई समर्थन गर्न तयार भएका परिस्थितिहरू अब रहेनन्,’ डियालोले भने।

फिफाको प्रस्तावित हिस्सेदारी बिक्रीबारे सदस्य महासंघसँग पर्याप्त परामर्श र जानकारी नदिइएको भन्दै डियालोले फिफाको शासन प्रणाली र निर्णय प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेको बताए।

फ्रान्ससँगै इंग्ल्यान्ड र इटालीलगायत युरोपका केही फुटबल महासंघले पनि इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।

युरोपेली फुटबल महासंघ (यूईएफए), एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले पनि फिफाको नेतृत्वमा परिवर्तन आवश्यक रहेको संकेत गरेका छन्। उनीहरू आगामी मार्चमा हुने निर्वाचनअघि इन्फान्टिनोलाई चुनौती दिन सक्ने विश्वसनीय उम्मेदवारको खोजीमा छन्।

डियालोले फ्रान्सको निर्णय यूईएफएभित्र र त्यसबाहिर विकसित भइरहेको व्यापक असन्तुष्टिको हिस्सा भएको बताए। अबको छलफल फिफाको शासन प्रणालीमा सुधार र इन्फान्टिनोलाई चुनौती दिन सक्ने उपयुक्त उम्मेदवार खोज्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

प्रकाशित: २६ भाद्र २०८३ ०७:३६ शुक्रबार