खेल

चार खेलाडीलाई वडाध्यक्ष कप चेसको उपाधि

क्षितिज भण्डारीले प्रथम काठमाडौं महानगरपालिका २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा उपाधि जितेका छन्।

बागबजारमा भएको प्रतियोगितामा क्षितिजले सात चरणको खेलमा पाँच स्कोर गर्दै उपाधि उचाले। समान अंक भएका सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो भए। क्याटागोरी ‘बी’ मा सिन्दिरा जोशी ५.५ अंकसहित पहिलो भइन्। सो स्पर्धामा समान अंक भए पनि राधिका पौडेल दोस्रो स्थानमा रहिन्। कुसुम घिसिङ तेस्रो भइन्। उनले ५ अंक जोडिन्। क्याटोगारी ‘सी’ मा राजीव कार्की पहिलो भए। सो स्पर्धामा महेन्द्रकुमार साम्बाहाम्पे दोस्रो भए। क्याटोगोरीमा ‘डी’ मा पदम कृष्ण श्रेष्ठ पहिलो भए।

काठमाडौं महानगरपालिका–२८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा भएको प्रतियोगितामा करिब दुई सय खेलाडीले प्रतिस्पर्धा गरे। विजेतालाई काठमाडौं–२८ का अध्यक्ष भाइराम खड्गी, प्रतियोगिता निर्देशक इन्द्र बस्नेत, थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य, पूर्वराष्ट्रिय च्याम्पियन नवीन तुण्डकार र मुख्य निर्णायक ज्ञानेन्द्र खाइजु लगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताले नेपाली चेस खेलको विकासमा थप सहयोग गर्ने विश्वास रहेको बस्नेतले बताए।

प्रकाशित: ३० कार्तिक २०८३ ०९:२४ सोमबार