खेल

नेपाली फुटबल टोलीमा पाँच नयाँ अनुहार

युवा मिडफिल्डर पेम्बादोर्जे लामासहित पाँच नयाँ खेलाडीलाई समेट्दै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलका लागि केही नयाँ खेलाडीसहित आइतबार नेपाली टोली घोषणा गरेको हो। कुल २३ सदस्यीय नेपाली टोलीमा पाँच जना नयाँ छन्। छनोटको समूह ‘एफ’ मा रहेको नेपालले गत नोभेम्बरमा आफ्नो पाँचौं खेल मलेसियासँग खेलेको थियो।

उक्त टोलीका सात खेलाडी लाओससँगको खेलमा समावेश छैनन्। एरिक विष्ट, अञ्जन विष्ट र लाकेन लिम्बूजस्ता अनुभवी खेलाडी यसपालि टोलीमा छैनन्। गोलकिपर दीप कार्की, दिनेश हेञ्जन, कुशल देउवा र सुवास बम पनि लाओस भ्रमण गर्ने टोलीमा छैनन्।

नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले उनीहरूलाई टोलीमा राखेनन्। एरिक सर्जरीपछि आराम गरिरहेका छन्। लाकेनले कम्बोडिया प्रिमियर लिग खेल्दै छन्। अञ्जन भने पछिल्ला समय लयमा देखिएका छैनन्। सुवासले नेपाली यु–२० टोलीबाट राम्रो खेलिरहेका छन्।

माल्दिभ्समा जारी साफ यु–२० च्याम्पियनसिपमा सुवासले दुई गोल गरिसकेका छन्। नेपाली युवा टोली सेमिफाइनलमा पुगेको छ। त्यसैले पनि उनी सिनियर टोलीमा अटाउन सकेनन्। प्रशिक्षक एरिनाले युवा मिडफिल्डर पेम्बा, मिलन राई, युवराज खड्का, रोमन भुजेल र गोलकिपर योगेश धिमाललाई पहिलोपल्ट अवसर दिएका छन्।  पेम्बाले त्रिभुवन आर्मी क्लब, मिलन राईले चर्च ब्वाइज युनाइटेड, युवराजले एपिएफ तथा रोमन र योगेशले प्लानिङ ब्वाइज युनाइटेडबाट व्यावसायिक फुटबल खेल्छन्।

उनीहरूले हाल स्थगित राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरेका थिए। सोही प्रदर्शनका आधार इटालियन प्रशिक्षक एरिनाले उनीहरूलाई राष्ट्रिय टोलीमा नै अवसर दिएका छन्। उनले चैत १ गते ४९ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए। नेपाल एसियन कप छनोटबाट दोस्रो चरणमा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ।

अब नेपालले आगामी मार्च ३१ गते लाओससँग खेल्दै छ। नेपाली टोली शनिबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। गोलकिपर किरणकुमार चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीपेश गुरुङ, जिलेस्पीजंग कार्की, कृतीशरत्न छुन्जु, मणिकुमार लामा, मनीष डाँगी, मिलन राई, पेम्बादोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का छन्।

प्रकाशित: १६ चैत्र २०८२ ०८:१९ सोमबार