बाँकेमा प्रथम खजुरा गोल्डकप गोल्डकप फुटबल प्रतियोगता सञ्चालन गर्न लागिएको छ। न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा यही चैत ३० गतेदेखि प्रतियोगिता सञ्चालन हुँदैछ। उक्त प्रतियोगिता खजुराको ‘डिगाउँ’ स्थित मिनी रंगशालामाा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको तयारी तीव्र पारिएको न्यू डाँफे स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। क्लबका अध्यक्ष बालाराम खत्रीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए। गोल्डकपमा दुई वटा विदेशी टिमसहित कुल ८ वटा टिमले सहभागिता जनाउने निश्चित भइसकेको उनले जानकारी दिए।
अध्यक्ष खत्रीले दिएको जानकारी अनुसार गोल्डकपमा संकटा क्लब काठमाडौं, एपिएफ क्लब, चर्च ब्वाइज क्लब काठमाडौं, नाइजेरियन जोन क्लब नाइजेरिया, लखनउ साहारा क्लब भारत, गोरखा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, काँक्रेबिहार क्लब सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्ट्स क्लब खजुराको सहभागिता रहने भएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप–विजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिने भएको छ। गोल्डकप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष खत्रीले बताए।
खजुरा गाउँपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा ‘डीगाउँ’ निवासी समाजसेवी लिलबहादुर थापाले प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफसीका सञ्चालक अंकित थापाले ७ लाख सहयोग गर्ने निश्चित भएको आयोजकले जनाएको छ। ‘बाँकी रकम आयोजकको आन्तरिक श्रोतबाट जुटाउने तयारी भइरहेको छ,’ अध्यक्ष खत्रीले भने। गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।
पत्रकार सम्मेलनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले खेलकुदको माध्यमबाट खजुरालाई देश–विदेशमा चिनाउन गोल्डकप महत्वपूर्ण हुने बताए। खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरामा आउने देश–विदेशका खेलाडीलाई बर्दियाको ठाकुरद्धारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने अध्यक्ष बिकले जनाए। खजुरा क्षेत्रबाट थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन्।
प्रकाशित: १७ चैत्र २०८२ १६:५४ मंगलबार