फिजीका २६ वर्षीय रग्बी खेलाडी साइमोनी भुनिलागीको प्रशिक्षणपछि 'हीटस्ट्रोक’का कारण जापानमा मृत्यु भएको छ।
जापानको दोस्रो डिभिजन क्लब क्युडेन भोल्टेक्सले भुनिलागीको मृत्यु भएको पुष्टि गरेको हो। क्लबका अनुसार प्रशिक्षण सकेपछि उनीमा उच्च गर्मीका कारण हुने 'हीटस्ट्रोक’का लक्षण देखिएका थिए। लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकको निरन्तर प्रयासका बाबजुद उनको शुक्रबार मृत्यु भएको क्लबले जनाएको छ।
भुनिलागीको मृत्यु भएको समयमा जापानको फुकुओका शहरको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो। केही समयअघि मात्रै क्युडेन भोल्टेक्समा आबद्ध भएका भुनिलागीले यसअघि जापानको शीर्ष डिभिजन क्लब टोकियो सुंगोलियाथबाट खेलेका थिए। १.९६ मिटर अग्ला र ११७ किलो तौलका उनी फर्वार्ड पोजिसनमा खेल्थे।
उनले जापानमै विश्वविद्यालय तहको अध्ययन गरेका थिए भने सन् २०२३ बाट व्यावसायिक रग्बी करियर सुरु गरेका थिए। भुनिलागीको आकस्मिक निधनप्रति क्युडेन भोल्टेक्स र जापान रग्बी लिग वनले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रकाशित: २४ श्रावण २०८३ ०९:१९ आइतबार