फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणका खेलहरू रोमाञ्चक मोडमा प्रवेश गर्दैछन् । दिनको केन्द्रमा रहनेछ विश्व फुटबलको सर्वाधिक सफल राष्ट्र ब्राजिल र पछिल्ला वर्षहरूमा विश्व फुटबलमा बलियो छाप छोडेको मोरक्कोबीचको बहुप्रतिक्षित प्रतिस्पर्धा। न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३:४५ बजे सुरु हुनेछ।
पाँच पटकको विश्वविजेता ब्राजिल यसपटक विगतका असफलता बिर्सेर पुनः विश्व फुटबलको शिखरमा फर्किने लक्ष्यमा छ। कतार विश्वकपमा क्वार्टरफाइनलमै रोकिएको ब्राजिल त्यसअघि रसिया विश्वकपमा पनि अन्तिम आठबाट बाहिरिएको थियो। यसकारण टोलीका लागि यस संस्करण केवल अर्को प्रतियोगिता होइन, प्रतिष्ठा पुनःस्थापनाको अवसर पनि बनेको छ।
ब्राजिलले विश्वकप इतिहासमा ११४ खेल खेल्दा ७४ जित हासिल गरेको छ भने पाँच पटक उपाधि जितेको छ। तर पछिल्लो विश्वकप उपाधि जितेको २४ वर्ष बितिसकेको छ। रोचक पक्ष के छ भने, ब्राजिलले आफ्नो चौथो विश्वकप उपाधि पनि २४ वर्षको प्रतीक्षापछि सन् १९९४ मा अमेरिकाकै भूमिमा जितेको थियो। यसपटक फेरि त्यस्तै संयोग दोहोरिने आशामा टोली छ।
ब्राजिलको नेतृत्व अहिले अनुभवी इटालियन प्रशिक्षक कार्लो एन्सिलोटीले गरिरहेका छन्। आफ्नो लामो प्रशिक्षण यात्रामा लगभग सबै प्रमुख उपाधि जितिसकेका एन्सिलोटीका लागि ब्राजिलसँग विश्वकप जित्नु करिअरको नयाँ उचाइ बन्न सक्छ।
यता ‘एट्लास लायन्स’ उपनामले परिचित मोरक्को इतिहास दोहोर्याउने लक्ष्यमा छ। कतार विश्वकपमा सेमिफाइनल पुगेर अफ्रिकाबाट त्यो उपलब्धि हासिल गर्ने पहिलो टोली बनेको मोरक्को अहिले पनि ‘डार्क हर्स’ का रूपमा हेरिएको छ।
पछिल्ला वर्षमा मोरक्कोले आफूलाई विश्व फुटबलको बलियो शक्तिका रूपमा स्थापित गरेको छ। सन् २०२३ यता टोलीले उल्लेखनीय प्रदर्शन गर्दै निरन्तर प्रभाव जमाएको छ। अहिले फिफा वरीयतामा पनि मोरक्को युरोपका स्थापित राष्ट्रहरूलाई पछि पार्दै सातौं स्थानमा उक्लिएको छ।
विश्वकप इतिहासमा ब्राजिलले अफ्रिकी टोलीविरुद्ध प्रभावशाली नतिजा निकाले पनि मोरक्कोसँग आत्मविश्वासको आधार छ। दुई टोलीबीचको पछिल्लो मैत्रीपूर्ण भेटमा मोरक्कोले २–१ को जित निकालेको थियो। यसपटक ब्राजिललाई विश्वकपमा हराउने दोस्रो अफ्रिकी राष्ट्र बन्ने लक्ष्य मोरक्कोको हुनेछ।
यद्यपि ब्राजिलका स्टार खेलाडी नेइमार अझै ‘काल्फ इन्जुरी’बाट पूर्ण रूपमा फर्किन नसकेकाले उनको उपलब्धतामाथि प्रश्न कायम छ।
स्कटल्यान्ड–हाइटी: लामो प्रतीक्षा र नयाँ सुरुवात
अर्को खेलमा विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे हुनेछ।
उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको हो। अघिल्लो सहभागितामा निराशाजनक प्रदर्शन गरेको टोली यसपटक नयाँ इतिहास रच्ने लक्ष्यमा छ। छनोट चरणमा प्रभावशाली प्रदर्शन गर्दै हाइटीले विश्वकप यात्रा तय गरेको थियो।
यता स्कटल्यान्ड आफ्नो नवौं विश्वकप खेल्दैछ। सन् १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किएको टोलीसँग यसपटक समूह चरण पार गर्ने बलियो अपेक्षा गरिएको छ। स्कट म्याकटोमिने र एन्डी रोबर्टसनजस्ता अनुभवी खेलाडीको उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ।
विश्वकपअघि मैत्रीपूर्ण खेलहरूमा उत्कृष्ट लय देखाएको स्कटल्यान्डलाई यस संस्करणको अर्को सम्भावित ‘डार्क हर्स’ मानिएको छ। यसपटक स्कटल्यान्डका समर्थकले सहभागिता मात्र नभइ नकआउट चरण यात्रा हुने विश्वास गरेका छन् ।
प्रकाशित: ३० जेष्ठ २०८३ १७:५० शनिबार