खेल

फिफा विश्वकप : केप भर्डेलाई ३-२ ले हराउँदै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक नकआउट खेलमा साविक विजेता अर्जेन्टिना र डेब्यु टोली केप भर्डेबीच मियामी रंगशालामा भएको ऐतिहासिक भिडन्त अतिरिक्त समयको रोमाञ्चक उतारचढावबीच समाप्त भएको छ।

केप भर्डेको कडा चुनौतीलाई पन्छाउँदै अर्जेन्टिनाले ३-२ को कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

यसअघि निर्धारित ९० मिनेट र इन्जुरी समय १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको यस खेलमा दुवै टोलीले आक्रामक खेल पस्किएका थिए। खेलको २८औँ मिनेटमा कप्तान लियोनेल मेसीले उत्कृष्ट फिनिसिङमार्फत विश्वकप करियरको २०औँ गोल पूरा गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा ल्याए।

अतिरिक्त समयको सुरुवातमै (९१औँ मिनेटमा) अर्जेन्टिनाले कर्नरमार्फत पुनः अग्रता लियो। मेसीको 'आउटस्विङर' कर्नर बललाई एलिक्सिस म्याक एलिस्टारले फ्लिक गरेपछि खाली ठाउँमा रहेका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले प्रहार गर्दै अर्जेन्टिनालाई २-१ को स्थितिमा पुर्‍याए। तर साविक विजेताको त्यो खुसी धेरै बेर टिक्न पाएन। खेलको १०२औँ मिनेटमा केप भर्डेका सिड्नी लोपेस काब्रालले उत्कृष्ट गोल फर्काउँदै खेललाई २-२ को रोमाञ्चक बराबरी स्थितिमा ल्याएका थिए।

पेनाल्टी सुटआउटतर्फ धकेलिँदै गरेको खेलको ११०औँ मिनेटमा अर्जेन्टिनाले निर्णायक अग्रता लियो। अर्जेन्टिनी आक्रमणलाई रोक्ने क्रममा केप भर्डेका डिफेन्डर डिनेबाट आत्मघाती गोल हुन पुग्यो। सोही आत्मघाती गोल नै खेलको निर्णायक मोड बन्न पुग्यो र अर्जेन्टिना ३-२ ले विजयी भयो। अब क्वाटरफाइनल प्रवेशका लागि अर्जेन्टिनाले मंगलबार इजिप्टको सामना गर्नेछ।

प्रकाशित: २० असार २०८३ ०६:३८ शनिबार