सह–आयोजक राष्ट्र संयुक्त राज्य अमेरिका र मेक्सिको विश्वकपबाट बाहिरिएपछि क्वाटरफाइनल खेलहरूको पुनर्बिक्री टिकटको मूल्यमा गिरावट आएको छ।
टिकपिक साइटले शुनिबार क्यालिफोर्नियाको इङ्गलवुडमा भएको स्पेन र बेल्जियम खेलको लागि सबैभन्दा कम मूल्य १,३८१ डलर सूचीबद्ध गरेको थियो।
अमेरिका राउन्ड अफ १६ मा बेल्जियमसँग पराजित हुनुअघि यही टिकटको न्यूनतम मूल्य ३,२६१ डलर रहेको थियो।
आइतबार फ्लोरिडाको मियामी गार्डेनमा हुने इङ्गल्याण्ड रनर्वेबिचको खेलको सबैभन्दा कम पुनः बिक्री मूल्य २,०४९ डलर कायम भयो। इङ्गल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउनु अघि यसको न्यूनतम मूल्य ३,८६६ डलर थियो।
मिसौरीको कान्सास सिटीमा हुने अर्जेन्टिना–स्विट्जरल्याण्ड खेलको टिकट पनि सस्तो भएको देखिएको छ।
उक्त खेलको सबैभन्दा कम पुनर्बिक्री मूल्य १,१४२ डलरमा झरेको छ। जबकि राउन्ड अफ १६ अघि यही टिकट मूल्य २,३८१ डलर थियो।
शुक्रबार सोफी स्टेडियम बाहिर भेटिएका क्यालिफोर्नियाको रिभरसाइड निवासी ६५ वर्षीय जेक भ्यान बारसेलले दुई दिनअघि मात्र टिकट खरिद गरेको बताए।
उनले आफूले सुरुमा टिकटको अत्यधिक मूल्यका कारण खेल हेर्ने योजना नबनाएको भए पनि छोराले सस्तोमा टिकट उपलब्ध भएको जानकारी दिएपछि १३ वर्षीय नातिसँग विश्वकपको अनुभव बाँड्ने उद्देश्यले प्रतिटिकट १,००० डलर तिरेर दुई टिकट किनेको बताए।
‘यो मेरो र मेरो नातिका लागि जीवनभर सम्झनलायक क्षण हुनेछ,’ उनले भने, ‘यस्ता सम्झनाको मूल्य पैसाले नाप्न सकिँदैन। खेलका लागि यो धेरै महँगो हो, तर हामी यसको पूरा आनन्द लिनेछौं।’
तर सबै दर्शकले कम मूल्यमा टिकट पाएका भने होइनन्। पूर्वी लस एन्जलसका ७० वर्षीय लिसान्ड्रो पिनेडाले आफूले एक महिनाअघि नै प्रतिटिकट करिब २,२०० डलर तिरेको बताए। ‘मूल्य निकै महँगो थियो, तर यो पुनर्बिक्री बजार हो,’ उनले भने। ‘म विश्वकप हेर्ने अवसर गुमाउन चाहन्नथेँ। यसअघि कहिल्यै विश्वकपमा गएको थिइनँ। मसँग पैसा पनि थियो, समय पनि थियो, त्यसैले टिकट किनें र आज यहाँ छु।’
लस एन्जलसका ६८ वर्षीय कुरोश मोडारेसले फिफाको आधिकारिक बिक्री चरणमा टिकट प्राप्त गर्न नसकेपछि आफ्नो परिवारले प्रतिटिकट करिब ७,००० डलर तिरेर आतिथ्य (हस्पिटालिटी) टिकट खरिद गरेको बताए। ‘मलाई यो खुला रूपमा भइरहेको डकैतीजस्तै लाग्छ,’ उनले प्रतिक्रिया दिए।
यसैबीच, जुलाई १९ मा न्यु जर्सीको पूर्वी रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनलका लागि फिफाले शुक्रबार करिब १,२०० श्रेणी–२ टिकट प्रतिटिकट ७,३८० डलरमा बिक्रीमा राखेको छ।
फिफाको अन्तिम समयको टिकट बिक्री प्रणालीमा माथिल्लो डेकका पाँच वटा खण्डमा कुल १,१७८ सिट उपलब्ध देखिएका छन्। तीमध्ये खण्ड ३४४ मा २८२, खण्ड ३४३ मा २९९, खण्ड ३३५ मा १३९, खण्ड ३३४ मा ४४३ र खण्ड ३३३ मा १५ सिट छन्।
फिफाले तल्लो डेकका ६८ वटा क्याटेगोरी–१ टिकट पनि १९,९९५ डलरदेखि ३२,९७० डलरसम्मको मूल्यमा बिक्री गरिरहेको छ। त्यस्तै, ट्रफी लाउन्ज र ट्रफी लाउन्ज प्लस क्षेत्रका बाँकी आतिथ्य टिकट क्रमशः ३४,५०० डलर र ३२,५०० डलरमा उपलब्ध छन्। यी टिकटमा खानपान तथा पेय पदार्थको सुविधा समेत समावेश गरिएको छ।
फिफाको आधिकारिक पुनर्बिक्री बजारमा विश्वकप फाइनलका टिकटहरू ७,४४०.५० डलरदेखि ११,४९९,९९८.८५ डलरसम्मका मूल्यमा सूचीबद्ध छन्।
यति धेरै टिकट अन्तिम समयमा किन बिक्रीका लागि उपलब्ध गराइयो भन्ने विषयमा प्रतिक्रिया मागिए पनि फिफाले तत्काल कुनै आधिकारिक टिप्पणी गरेको छैन।
प्रकाशित: २७ असार २०८३ १४:५३ शनिबार