खेल

अन्तिमपटक रमाउन कोर्टमा फर्किए फेडेरर, रडिकसँग प्रदर्शनी खेल

पाँचपटक यूएस ओपन उपाधि जितेका रोजर फेडेरर मंगलबार राति लामो समयका प्रतिद्वन्द्वी तथा साथी एन्डी रडिकसँग प्रदर्शनी खेल खेल्न आर्थर एस रंगशालामा फर्किएका छन्।

‘एन आइकन रिटर्न्स टु न्युयोर्क’ नाम दिइएको प्रदर्शनी खेल हेर्न रंगशाला दर्शकले भरिएको थियो। ४५ वर्षीय फेडेरर र ४४ वर्ष पुग्न लागेका रडिकबीचको खेलमा फेडेररका चर्चित ‘आरएफ’ लोगो अंकित टोपी लगाएका दर्शक पनि उल्लेख्य थिए।

फेडेररले यूएस ओपनमा २० ग्रान्डस्लाम उपाधिमध्ये पाँच उपाधि लगातार जितेका थिए। उनले सन् २००५ देखि २००९ सम्म लगातार पाँचपटक यूएस ओपनको उपाधि आफ्नो नाममा लेखाएका थिए।

न्युयोर्क फर्किएपछि फेडेररले आर्थर एस रंगशालासँग जोडिएका पुराना सम्झना पनि सुनाए। उनले सन् १९९८ मा पहिलोपटक जुनियर प्रतियोगिता खेल्न न्युयोर्क आएको र तीन वर्षपछि मुख्य कोर्टमा आन्द्रे अगासीसँग आफ्नो पहिलो खेल खेलेको सम्झिए।

अगासीसँगको पहिलो खेलमा ६–१, ६–२, ६–४ ले पराजित भए पनि फेडेररले त्यो खेललाई आफ्नो करिअरको विशेष सम्झनाका रूपमा लिएका छन्। सन् २००५ मा भने उनले अगासीलाई हराउँदै पहिलोपटक यूएस ओपन उपाधि जितेका थिए।

यता सन् २००३ का यूएस ओपन विजेता रडिकले फेडेररकै कारण आफू प्रदर्शनी खेलका लागि कोर्टमा फर्किएको बताए। दुवैबीच लामो समय प्रतिस्पर्धा भए पनि उनीहरूको मित्रता भने करिअरपछि पनि कायम रहेको रडिकले बताए।

फेडेरर र रडिकबीचको यो भेट प्रतिस्पर्धाभन्दा पनि दुई पूर्वच्याम्पियनको पुरानो मित्रता र टेनिसप्रतिको प्रेम सम्झाउने विशेष अवसर बनेको थियो।

प्रकाशित: १० भाद्र २०८३ ०८:३० बुधबार