खेल

एसियाली खेलकुदमा सहभागी हुन जापान उड्यो नेपाली क्रिकेट टोली

जापानमा आयोजित बीसौं संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट सङ्घ (क्यान) सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन्।

बिदाइ समारोहमा राखेपका सदस्य सचिव मेहताले टोलीलाई शुभकामना दिए। प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्ने उल्लेख गर्दै पदकको आशा राखेको बताए।

नेपालले प्रतियोगिताको समूह चरणमा आगामी शुक्रबार अफगानिस्तान र आज जापानविरुद्ध खेल्ने तालिका छ। नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले क्रिकेटतर्फ हालसम्म एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ। यसपालि प्रतियोगितामा स्वर्णपदक जित्ने लक्ष्य रोखेको टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताए।

एसियाली खेलकुदका लागि नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन्।

प्रकाशित: ३ आश्विन २०८३ १९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App