खेल

सुदूरपश्चिम : जहाँ खेलाडी छन्, पूर्वाधार छैन

प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ ३० गते सेताम्मे अपि हिमालको फेद (आधार शिविर बेसक्याम्प) मा क्रिकेट खेलिरहेका युवाको भिडियो आफ्नो सामाजिक स्रञ्जाल फेसबुकमा राखे। उक्त भिडियो केही समयमै भाइरल बनेसँगै मनमोहक र रमणीय स्थल अपि आधार शिविरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनुपर्ने विषय उठान भयो। सुदूरपश्चिमले अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका थुप्रै खेलाडी जन्माएको छ। राष्ट्रिय क्रिकेट टोलीमा झण्डै आधा खेलाडी सुदूरपश्चिमकै छन्। तेक्वान्दोका कीर्तीमानी खेलाडी दीपक विष्टदेखि विभिन्न खेलकुदमा अन्तर्राष्ट्रिय मैदानमा देशकै झण्डा फहराउने खेलाडी सुदूरपश्चिमै छन्। १० जना ओलम्पियन सुदूरपश्चिमकै छन्।

‘सुदूरपश्चिमले प्रतिभाशाली खेलाडी जन्माएको छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी सुदूरपश्चिमकै छन्’, नेपाल उसो महासंघका केन्द्रीय कोषाध्यक्ष तथा कैलाली जिल्ला संघका अध्यक्ष राजीव गुप्ता भन्छन्, ‘तर सरकारले खेलाडी र खेल पूर्वाधारका लागि गर्ने लगानी शून्यप्रायः छ।’

खेलकुदका संरचना, खेल सामग्री र प्रशिक्षणमा लगानी न्यून भएको उनी बताउँछन्। खेलकुद पूर्वाधारतर्फ सरकारले विनियोजन गरेको बजेट पनि पार्टीका कार्यकर्ता पोस्न ठिक्क हुने गरेको उनको भनाइ छ। उनका अनुसार सीमित प्रशिक्षकले सीमित साधनस्रोतका भरमा खेलाडीलाई प्रशिक्षण दिनु परेको छ।

सुदूरपश्चिम प्रदेशमा एउटा पनि क्रिकेट रंगशाला छैन। खेलाडी अहिले पनि खुला मैदान, खेतबारी, नदी बगरमा अभ्यास गर्न बाध्य छन्।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कैलाली क्रिकेट संघका अध्यक्ष विक्रम विष्ट राज्यले लगानी नगर्दा प्रतिभावान् खेलाडी जन्माउने सुदूरपश्चिममा खेलका पूर्वाधार नभएको बताउँछन्। ‘सुदूरपश्चिम प्रदेशभरिमा एउटा पनि क्रिकेट स्टेडियम छैन्’, उनले भने, ‘अहिले पनि खेलाडीले खुला मैदान, खेतवारीमै खेल्नुपरेको छ।’

क्रिकेटमा सुदूरपश्चिमका प्रतिभावान् खेलाडी छन्। अहिले क्रिकेट पुरुष सिनियर टोलीका खेलाडी विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, शेर मल्ल, लोकेश बमलगायत सुदूरपश्चिमकै हुन्। क्रिकेट अण्डर १९ टोलीमा सुदूरपश्चिमका ६ जना खेलाडी रहेको विष्ट बताउँछन्। क्रिकेट महिला टिमतर्फ पनि सुदूरपश्चिमका खेलाडी उल्लेख्य छन्। विन्दु रावल, सुधा धामी, कविता जोशी, कविता कुँवर र इश्वरी विष्ट, सुमन विष्टलगायत राष्ट्रिय क्रिकेट टोलीमा रहेको अध्यक्ष विष्ट बताउँछन्। ‘एक से एक प्रतिभावान् खेलाडी उत्पादन गर्ने सुदूरपश्चिममा खेल पूर्वाधार र खेलाडीतर्फ संघ, प्रदेश र स्थानीय सरकार कसैको पनि सन्तोषजनक लगानी छैन’, उनी भन्छन्।

केही वर्षदेखि चर्चामा रहेको धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अझै हुन सकेको छैन। सातआठ वर्षदेखि लाग्दा पनि जग्गा प्राप्तिमा भएको जटिलताले निर्माणमा ढिलाइ भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका निर्वतमान अध्यक्ष तथा क्रिकेट अभियन्ता सुभास शाही बताउँछन्।  

सुदूरपश्चिममा अन्य खेलकूद पूर्वाधारको अवस्था पनि दयनीय छ, गतिला पूर्वाधार छैनन्। २०६८ सालमा छैटौं राष्ट्रिय खेलकुदका बेला बनाउन सुरु गरिएको धनगढीस्थित रंगशाला अझै पुरा हुन सकेको छैन। रंगशालाको आधा काम पनि भएको छैन्। १६ वटा प्यारापिट ब्लकमा ९ वटा मात्रै बनेका छन्। बनेका प्यारापिटमा पनि प्लास्टर र रंगरोगनको काम बाँकी छ। धनगढी रंगशाला परिसरमै इन्डोर खेलका लागि बनाउन लागिएको कर्भड हल पनि सम्पन्न हुन सकेको छैन।

‘सुदूरपश्चिमले प्रतिभाशाली खेलाडी जन्माएको छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी सुदूरपश्चिमकै छन्’, नेपाल उसो महासंघका केन्द्रीय कोषाध्यक्ष तथा कैलाली जिल्ला संघका अध्यक्ष राजीव गुप्ता भन्छन्, ‘तर सरकारले खेलाडी र खेल पूर्वाधारका लागि गर्ने लगानी शून्यप्रायः छ।’

सुदूरपश्चिममा आवासीय सुविधासहित दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले कैलालीको टीकापुरमा निर्माण गरिएको स्पोटर्स एकेडेमी पनि सञ्चालनमा आउन सकेको छैन।  

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का सुदूरपश्चिम प्रतिभावान् खेलाडी जन्माउने उर्वर भूमि भएको बताउँछन्। खेलकुद क्षेत्रमा कम बजेट राख्दा खेलाडीलाई प्रोत्साहन, खेलकुद गतिविधि सञ्चालन र आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उनको बुझाइ छ। अन्य प्रदेशको तुलनामा यो प्रदेशमा खेलकुदतर्फको बजेट धेरै न्यून रहेको उनी बताउँछन्। ‘यो प्रदेशका ९ जिल्लाका खेलाडीलाई धनगढी बोलाएर खेलाउन सकिने अवस्था पनि छैन’, उनले भने। प्रदेश सरकारले खेल विकासमा आश्वासन मात्र दिने तर आवश्यक बजेट नछुट्याएको उनको गुनासो छ। ‘डेढ दशक हुँदा पनि धनगढी रंगशाला सम्पन्न भएको छैन’, उनले भने, ‘पहाडी जिल्लामा त खेल पूर्वाधार झन् दयनीय छ।’

बजेट दुरुपयोग

उसै त खेलकुदमा बजेट न्यून विनियोजन छ। त्यसमाथि सुदूरपश्चिममा खेल मैदान निर्माणका लागि विनियोजित बजेट पनि सदुपयोग भएको देखिँदैन। कागजमा योजना सम्पन्न भए पनि यो प्रदेशका धेरै जिल्लामा खेलकुद सञ्चालन गर्ने खेल मैदान र संरचना छैनन्। खेल मैदानका लागि विनियोजन भएको रकम र निर्माण प्रक्रियाबारेमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्सँग कसैले समन्वय नगरेको सदस्यसचिव खड्का बताउँछन्। ‘खेल मैदानका लागि खुद्रे बजेट छुट्याइएको हुन्छ’, उनले भने, ‘त्यो कहाँ, कसरी खर्च हुन्छ, हामीलाई जानकारी हुँदैन।’ खेलकुद परिषद्को रोहोवरमा खेल मैदान र पूर्वाधारमा विजिनयोजन भएको बजेट खर्च गरी दुरुपयोग रोकिनुपर्छ भन्ने उनको भनाइ छ।

सामाजिक विकास कार्यालयमार्फत खेल मैदान र संरचना निर्माणका लागि विनियोजित रकम कर्मचारी, राजनीतिक दलका कार्यकर्तालगायतको मिलेमतोमा दुरुपयोग गरिँदा परिणाममुखी संरचना बन्न नसकेको स्रोतको दाबी छ।

प्रकाशित: २ भाद्र २०८३ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App