खेल

एनपिएल: फापको डेब्यु, विराटनगरले गुमायो अवसर

फाप डु प्लेसिसको डेब्यु र विराटनगर किङ्सको छैटौं खेल खराब भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा टोलीले एक खेलअगावै प्लेअफ पुग्ने अवसर गुमाएको छ।

दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर फापको एनपिएलमार्पmत नेपाली क्रिकेटमा पदार्पण सुखद रहेन। एनपिएलको डेब्युमा उनी १२ रनमै आउट भए । उनको टोली विराटनगर पनि कीर्तिपुरमा लुम्बिनी लायन्ससँग पाँच विकेटले पराजित भयो र एक खेलअगावै प्लेअफ पुग्ने अवसर गुमायो।

फापको ब्याटिङ चल्न नसके पनि त्रिवि क्रिकेट मैदानमा उपस्थित समर्थकले हुटिङबाट उनलाई पछ्याइरहे। उनले नै उत्कृष्ट क्याच गरेपछि लुम्बिनीका कप्तान रोहित पौडेल खाता नखोल्दै आउट भए। मैदानमा उनको क्याचालाई हुटिङ गर्दै समर्थकले रंगशाला गुञ्जायमान गरे। उनको आगमनलाई समर्थकले पनि विशेष बनाउन प्रयास गरे। उनलाई स्वागत गरिएका ब्यानर पनि प्यारापिट देखिए। विराटनगर मात्र नभई विपक्षी खेलाडी पनि उनको आगमन उत्साहित देखिए।

लुम्बिनीका सन्दीप जोराले नै फापजस्ता खेलाडीको आगमन हरेक नेपाली खेलाडीका लागि ठूलो अवसरका रूपमा लिनुपर्ने बताए। ‘विश्वस्तरीय फाप डु प्लेसिसविरुद्ध खेल्न पाउँदा धेरै उत्साहित नै थिएँ। फापको फ्यान नै हौं तर, आज जित्नैपर्ने खेल थियो र उनलाई विपक्षीका रूपमा हेरेका थियौं,’ जोराले भने, ‘उहाँजस्ता खेलाडीसँग खेल्न पाउनु नेपाली खेलाडीका लागि ठूलो अवसर हो। उहाँहरूबाट नेपाली खेलाडीले धेरै पक्ष सिक्नुपर्छ। समग्र नेपाली क्रिकेटका लागि नै यस्ता खेलाडी आउनु सुखद पक्ष हो।’

यो जितपछि लुम्बिनीले पनि प्लेअफ होड पनि जीवन्त राख्यो। डार्सी सर्टको अर्धशतक प्रेरणामा लुम्बिनीले दोस्रो सिजनमा तेस्रो जित निकालेको हो। लिगको अन्त्यमा रहेर लुम्बिनीले गत सिजन पूरा गरेको थियो।

पछिल्ला दुई खेल लगातार जित्दै लुम्बिनीले प्लेअफ होड जारी राखेको हो तर अन्तिम खेलमा जनकपुर बोल्ट्ससँगको जित मात्र लुम्बिनीको प्लेअफका लागि पर्याप्त नहुन सक्छ। अन्य टोलीको नतिजाले पनि असर गर्न सक्नेछ। हारपछि विराटनगरले एक खेलअगावै प्लेअफमा पुग्ने अवसर पनि गुमायो । विराटनगरको छैटौं खेलमा यो दोस्रो हार हो। पहिलो तीन खेल लगातार जित्दै विराटनगरले प्लेअफ दाबेदारी दिएको थियो  तर ब्याटिङमा लय जारी राख्न नसक्दा विराटनगरले दुई हार सामना गर्‍यो। पहिलो हार विराटनगरले चितवन राइनोजसँग बेहोरेको हो। त्रिवि क्रिकेट मैदानमा विराटनगरले एक सय ४५ रनको मध्यम लक्ष्य दियो। लुम्बिनीले १७.४ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्‍यो।

विराटनगरका लोकेश बमले जितका लागि १५/२० रन कम भएको बताएका छन्। ‘आजको खेलमा १५/२० रन कम भयो। बलिङमा पनि आशाअनुरूप हुन सकेन। टोलीको लक्ष्य कम भयो। मैले पनि राम्रो गर्न सकिनँ। पिचमा ब्याटिङ गर्न त्यति सहज थिएन। केही रन कम भयो,’ लोकेशले भने।

लुम्बिनीका ओपनर सर्टले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ बनाए। यो नै सर्वाधिक योगफल रह्यो। उनले ४४ बलमा ६ चौका र दुई छक्का हिर्काए। पाँचौं ओभरमा युवा स्पिनर सुवास भण्डारीले दुई विकेट लिँदै लुम्बिनीमाथि दबाब बनाए। उनले ओपनर सुमित महर्जनलाई १० रन र कप्तान रोहित पौडेललाई शून्यमा नै पभेलियनको बाटो देखाए। तेस्रो विकेटका लागि सर्ट र सन्दीप जोराले ३७ रनको साझेदारी गर्दै इनिङ समाले।

विराटनगरका कप्तान सन्दीप लामिछानेले जोरालाई २४ रनमा एलबिडब्लु धरापमा पारे। जोराले १५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। पाँचौं विकेटका लागि पनि सर्ट र निरोसन डिकवेलाबीच ४६ रनको साझेदारी बनेपछि लुम्बिनी जितनजिक पुग्यो। १४औं ओभरमा सन्दीपले सर्टलाई लोकेश बमबाट क्याच गराउँदै साझेदारी तोडे। यद्यपि, सर्टले जितको आधार बनाइसकेका थिए। डिकवेला २९ रनमा अविजित रहँदा दिलीप नाथ १६ रनमा आउट भए। डिकवेलाले २२ बलमा दुई चौका र एक छक्का हिर्काए। दिलीपले १२ बलमा दुई चौका प्रहार गरे। विराटनगरको बलिङमा सन्दीप र सुवासले समान दुई विकेट लिँदा बसिर अहमदको नाममा एक विकेट रह्यो।

विराटनगरले सात बलर प्रयोग गर्‍यो तर सन्दीपबाहेक सबै महँगा साबित भए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ४४ रनको मध्यम योगफल बनाएको थियो। खाता नखोल्दै ओपनर जर्ज मुन्सीलाई गुमाएको विराटनगर इनिङभर दबाबमा रह्यो। शेर मल्लले उनलाई शून्यमै एलबिडब्लु सिकार बनाए। उनी प्लेअर अफ दी म्याच पनि भए। एनपिएलको डेब्युमा डु प्लेसिस पनि १२ रनमै आउट भए। ९ बल खेलेका उनले दुई चौका मात्र हिर्काए। अर्का स्पिनर अभिशेष गौतमले डु प्लेसिसलाई निरासान डिकवेलाबाट स्टम्पिङ गराए।

दबाब बेहोरेको विराटनगरले पावरप्लेमा ३४ रन मात्र जोड्यो। दोस्रो विकेटका लागि लोकेश बम र साम हेजलेटले ५५ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए। यद्यपि, यो जोडीले सुस्त ब्याटिङ गर्‍यो। १२औं ओभरमा लोकेश ३५ रनमा स्मितद्वारा कट एन्ड बोल्ड भए। उनले ४१ बलमा समान दुई चौका र छक्का प्रहार गरे।

चौथो विकेटका रूपमा नारायण जोशी ५ रनमै आउट भए । शेरले उनलाई एलबिडब्लु सिकार गराए। १३.१ ओभरमा विराटनगर ८२/४ को अवस्थामा थियो। खातामा एक रन थपिँदै पाँचौं विकेट पनि पतन भयो। हेजलेट २७ रनमा शेरद्वारा नै सिकार भए। २० बल खेलेका उनले एक चौका र दुई छक्का हिर्काए। त्यसपछि प्रतीश जिसी पनि ११ रनमा नै पभेलियन फर्किए।

बसिर अहमदले इनिङ समाल्ने प्रयास गरे। उनले १९ बलमा २८ रनको योगदान दिए। उनको इनिङमा समान एक चौका र छक्का रह्यो। मार्चन्ट १० रनमा र कप्तान सन्दीप ६ रनमा अविजित रहे। कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न नसक्दा विराटनगरले ठूलो इनिङ बनाउन सकेन। पहिलो बलमै सन्दीपले छक्का प्रहार गरेपछि विराटनगरले १४० रनको आँकडा पार गरेको हो। लुम्बिनीको बलिङमा शेरले चार ओभरमा तीन विकेट लिँदा २५ रन मात्र दिए। स्मित, अभिशेष र रुबेन ट्रम्पमेनले समान एक विकेट लिए।

आगामी खेल जितेर प्लेअफ पुग्ने प्रयास गर्छौं: जोरा

लुम्बिनीका जोराले जित्नै पर्ने महत्त्वपूर्ण खेलमा सफलता पाउँछौं भन्ने आत्मविश्वासका साथ खेलेको बताएका छन्। जितपछि पत्रकार सम्मेलनमा जोराले यसअघि पनि समग्र टिमको रूपमा सबैले राम्रो खेल्दै आए पनि जित सम्भव नभएको उल्लेख गरेका छन्।

विराटनगरसँग पनि एउटा टिमका रूपमा खेल्दा जित निस्किएको उनको भनाइ छ। जोराले प्लेअफमा पुग्नका लिगमा बाँकी एक खेल जित्ने विश्वास व्यक्त गरेका छन्। अहिलेसम्म सबै खेलाडीले आआफ्ना ठाउँबाट भूमिका निर्वाह गरेको उनी बताउँछन्। जुन यो सिजनमा टोलीका लागि महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ छ। लिगको अन्तिम खेल जित्दै क्वालिफाइङ हुने सन्दीपको आशा छ।

जित निकाल्दा टोलीको मनोबल नै बढेको उनी बताउँछन्। जोराले अघिल्ला केही खेलमा मिडल अर्डरमा समस्या भए पनि निरोसान डिकवेलाको आगामनपछि त्यसमा सुधार भएको बताए। यसले गर्दा पनि जित निकाल्न सहज भएको उनले उल्लेख गरेका छन्। आफ्नो खेलबाट सन्तुष्ट नरहेको उनले उल्लेख गरे तर आगामी खेलमा राम्रो हुने आशा गरेका छन्। अघिल्लो खेलमा फिल्डिङमा समस्या देखिएको उनले उल्लेख गरे तर त्यसमा टोलीले सुधार गरेको जोराको विश्वास छ। विराटनगरका लोकेशले डु प्लेसिस जस्तो खेलाडीसँग खेल्नु र ड्रेसिङ रूम सेयर गर्नु आफूजस्ता खेलाडीका लागि ठूलो अवसरका रूपमा लिए।

उनले आफ्ना लागि मार्टिन गप्टिललाई नै हेरेर अगाडि बढेको उल्लेख गर्दै उनीसँग खेल्न पाउँदा खुसी रहेको लोकेशले बताएका छन्। यसका लागि विराटनगरका मालिकलाई पनि धन्यवाद दिए। मार्टिन र फाप जस्ता खेलाडीले कसरी खेल अगाडि बढाउँछन् भन्ने हेरेर नै सिक्नुपर्ने उनले औंल्याएका छन्। शीर्ष क्रमका ब्याटर चल्न नसक्नु टोलीको कमजोरी रहेको उनी बताउँछन् तर आगामी खेलमा पनि शीर्ष क्रमका ब्याटरले राम्रो खेल्ने आशा गरेका छन्। त्यसमा आफूले पनि राम्रो खेल्न नसकेको उनले स्वीकार गरेका छन्।

प्रकाशित: १८ मंसिर २०८२ ०६:२० बिहीबार