फिफा विश्वकप २०२६ को 'राउन्ड अफ १६' अन्तर्गतको रोमाञ्चक खेलमा इंगल्याण्डले सह-आयोजक मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
एस्टाडियो एज्तेकामा ८० हजारभन्दा बढी दर्शकका अगाडि भएको यो खेलमा इंगल्याण्डले मेक्सिकोलाई उनीहरूकै घरेलु मैदानमा स्तब्ध पारेको हो। खेलअघि मेक्सिकन फ्यानहरूले आइतबार राति इंगल्याण्डको टोली बसेको होटेल बाहिर रातभरि 'सेरेनेड' को नाममा चर्को आवाजमा हर्न बजाउँदै र आतिशबाजी गर्दै खेलाडीको निद्रा बिगार्ने प्रयास गरेका थिए। मेक्सिकोका फ्यानहरूले विपक्षी टोलीलाई मानसिक रूपमा दबाबमा राख्न यस्तो गतिविधि गरेका थिए। यद्यपि, मैदानमा इंगल्याण्डका खेलाडीहरू यी सबै अवरोधका बाबजुद उच्च मनोबलका साथ प्रस्तुत भए।
खेलमा जुड बेलिङ्घम नायक बने। उनले ३६औँ मिनेटमा हेडरमार्फत र ३८औँ मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै ९८ सेकेन्डको अन्तरालमा दुई गोल गरे। यसले इंगल्याण्डलाई सुरुवाती अग्रता दिलायो। ४२औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काए।
५४औँ मिनेटमा इंगल्याण्डका डिफेन्डर जारेल क्वान्साहले जेसस ग्यालार्डोमाथि खतरनाक फाउल गरेपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिनुपर्यो। १० खेलाडीमा सीमित इंगल्याण्डका लागि ६०औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरे। यो गोलसँगै केनले जारी प्रतियोगितामा छैटौँ र विश्वकप करियरको १४औँ गोल पूरा गरे। यो उपलब्धिले उनलाई विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा पश्चिम जर्मनीका गर्ड मुलरसँग बराबरी गराएको छ।
६९औँ मिनेटमा केनको फाउलका कारण मेक्सिकोले पेनाल्टी पायो, जसमा राल जिमेनेजले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए। केन विश्वकपको एकै खेलमा गोल गर्ने र पेनाल्टी स्वीकार गर्ने सन् १९६६ पछिकै पहिलो खेलाडी बने। अन्तिम २१ मिनेट र ११ मिनेटको इन्जुरी समयमा मेक्सिकोले लगातार आक्रमण गरे पनि गोलकिपर जोर्डन पिकफोर्ड र इंगल्याण्डको रक्षापङ्क्ति जित जोगाउन सफल भयो। सन् १९८६ यता क्वाटरफाइनल पुग्न नसकेको मेक्सिकोको सपना फेरि एकपटक राउन्ड अफ १६ मै अन्त्य भएको छ।
यो जितसँगै अब क्वाटरफाइनलमा इंगल्याण्डले नर्वेको सामना गर्ने भएको छ। नर्वे पनि आज बिहान भएको खेलमा ब्राजिललाई २-१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो। इंगल्याण्ड र नर्वेबिचको खेल आगामी आइतबार बिहान २:४५ बजे मियामी रंगशालामा हुनेछ।
प्रकाशित: २२ असार २०८३ ०९:२० सोमबार