स्वप्निल भट्टराई र सोहम अग्रवालले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपअन्तर्गत ओभरअलतर्फ संयुक्त रूपमा शीर्ष स्थानमा अग्रता बनाएका छन्।
रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा बिहीबार स्वप्निल र सोहमले कुल ३६ होलको समाप्तिमा समान ६ ओभर १४२ स्कोर गर्दै अग्रता लिएका हुन्। प्रकृत तामाङ तेस्रो स्थानमा छन्। उनले ९ ओभर १ सय ४५ को स्कोर गरे।
शुक्रबार अन्तिम १८ होलको खेल हुनेछ। जहाँ ब्वाइजतर्फ दुवै स्पर्धामा समान ११ जना र महिलातर्फ ३ जनाले प्रतिस्पर्धा गर्नेछन्। नेपाल गल्फ संघद्वारा आयोजित प्रतियोगिताको तीन क्याटेगोरीका विजेता खेलाडी भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया ग्रान्ड फाइनलका लागि छनोट हुनेछन्। ब्वाइज १७ देखि २१ वर्ष उमेर समूहमा स्वप्निल लगातार दोस्रो दिन पनि तीन स्ट्रोकको अग्रता कायमै राख्न सफल भए।
स्वप्निलले तीन ओभर ७१ को स्कोरमा प्रकृत तामाङलाई तीन स्ट्रोकले पछि पारे। स्वप्निलले चौथो र सातौं होलमा एकएक सट बचाए तर दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन दुई ओभर ३६ मा पूरा गरे। यसपछि ११औं होलमा बोगी र १३औं होलमा ट्रिपल बोगीको सामना गरे।
दसौं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन एक ओभर ३५ मा सकाए। प्रकृतले आज ३ ओभर ७१ को स्कोर गर्दा समग्रमा ९ ओभर १ सय ४५ सहित दोस्रो स्थानमा कायमै छन् । उनले फ्रन्ट नाइन दुई ओभर ३६ र ब्याक नाइनमा एक ओभर ३५ को नतिजा निकाले। समग्रमा १९ ओभर १ सय ५५ को स्कोरमा सत्यजोत राणा र सिद्धान्त सापकोटा संयुक्त रूपमा तेस्रो स्थानमा रहे। दुवैले बिहीबार ओभर ७६ को स्कोरमा खेल सकाए।
ब्वाइजको ११ देखि १६ वर्षको उमेरसमूहमा सोहमले पहिलो दिनका लिडर रुबेन थापालाई ९ स्ट्रोकले पछि पारेका छन्। सोहमले बिहीबार इभन पार ६८ को स्कोर कार्ड बनाउँदा समग्रमा ६ ओभर १ सय ४२ सहित शीर्ष स्थानमा उक्लिएका हुन्।
सोहमले पहिलो होलमा बर्डी र चौथो होलमा इगलको सफलता प्राप्त गर्दै उत्कृष्ट सुरूवात गरे तर यसपछि उनले छैंटौं र सातौं होलमा बोगी तथा आठौं होलमा डबल बोगीको समान गरेसँगै फ्रन्ट नाइन एक ओभर ३५ मा सकाए। यसपछि १० औं र १४ औं होलमा बर्डी प्रहार गर्दा १५औं होलमा एक सट खेर फाले। ब्याक नाइन एक अन्डर ३३ खेले । पहिलो दिनका लिडर रूबेनले बिहीबार १० ओभर ७८ को प्रदर्शन गरे।
यससँगै समग्रमा १५ ओभर १ सय ५१ सहित उनी दोस्रो स्थानमा तल झरे। उनले फ्रन्ट नाइन ६ ओभर ४० र ब्याक नाइन चार ओभर ३८ मा सकाए। ड्यानियल बानियाँले २० ओभर ८८ स्कोर गरेसँगै समग्रमा २९ ओभर १ सय ६५ सहित तेस्रो स्थानमा छन्।
गल्सतर्फ नेपालकी अवानी राई र बेलायतकी एमिली लो ग्लुडाइस समग्रमा ३१ ओभर १ सय ६७ सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। एमिलीले बिहीबार १९ ओभर ८७ र अवानीले २२ ओभर ९० स्कोर गरे। समग्रमा १ सय ८० सहित यश्वी श्रेष्ठ तेस्रो स्थानमा रहेकी छन्।
प्रकाशित: २५ पुस २०८२ १०:०१ शुक्रबार