एसियाली खेलकुदको २०औं संस्करण आउन एक महिनाभन्दा कम समय छ। त्यसैले अहिले नेपाली खेलाडी मैदानमा कडा मेहनतका साथ प्रशिक्षणमा छन्। हरेक चार वर्षमा आयोजना हुने एसियाली खेलकुद यसपल्ट जापानको नागोया/आइची सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदै छ।
जसको प्रतीक्षामा नेपाली खेलाडी छन्। विश्वको सबैभन्दा ठुलो प्रतिस्पर्धा ओलम्पिक हो। तर त्यसमा नेपालका खेलाडीले अहिलेसम्म पदक जित्न सकेका छैनन्। अहिलेसम्म तीनजना खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेल्न सकेका छन्। यस्तो स्थितिमा ओलम्पिकमा पदक जित्नु नेपाली खेलाडीका लागि सपना जस्तै हुँदै आएको छ।
पारालिम्पिकमा भने पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पदक जितेर इतिहास बनाइसकेकी छिन्। जुन इतिहास ओलम्पिकमा नेपाली खेलाडीले बनाउन सकेका छैनन्। नेपाली खेलाडीले एसियाली खेलकुदमा स्वर्ण नपाए पनि सफलता पाएका छन्।
पदक जित्न सक्ने भएकाले पनि नेपाली खेलाडीका लागि एसियाली खेलकुद विशेष महत्वको रहँदै आएको छ। यसकारण पनि उनीहरूका लागि एसियाली खेलकुद सधैं प्रतीक्षाको आयोजना बन्ने गरेको छ। एसियाली खेलकुदको इतिहास सन् १९५१ मा भारतबाट सुरु भएको हो। त्यसयता झन्डै साढे सात दशकमा एसियाली खेलकुदका १९ वटा संस्करण पूरा भइसकेका छन्।
अहिलेसम्म नेपालले स्वर्ण पदक जित्न भने सकेको छैन। तीन पटक नेपाली खेलाडी स्वर्ण पदक नजिक पुगे पनि असफल रहे। तेक्वान्दोकी सविता राजभण्डारी, करातेकी एरिका गुरुङ र टिम स्पर्धा पाराग्लाइडिङ स्वर्णनजिक पुगेका हुन्। एसियाली खेलकुदमा नेपालको सबैभन्दा ठुलो सफलता रजत पदकमा सीमित छ।
व्यक्तिगत स्पर्धामा दुई रजत र टिममा एक रजत नेपालले पाएको छ। जुन सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी हुन्। त्यही सफलता दोहोर्याउन नेपालले दुई दशक पर्खनु पर्यो। सन् २०१८ मा इन्डोनेसियामा भएको खेलमा त्यही सफलता दोहोरियो। पाराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाली पुरुष टोली (विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल गुरुङ) ले देशलाई अर्को सफलता दिलाए।
सन् २०२२ मा चीनमा आयोजित १९औं संस्करणमा ६६ केजी तौल समूहमा करातेकी एरिका गुरुङले स्वर्ण पदकको आशा दिलाए पनि फाइनलमा उनी कजाखस्तानकी सोफिया बेरुल्स्तेभासँग पराजित हुन पुगिन्। यससँगै तेस्रोपल्ट नेपाल स्वर्णनजिक पुगेर पनि चुक्यो। यसपल्ट जापानमा हुने एसियाली खेलकुदमा पनि स्वर्ण पदकको आशा उनै एरिकाबाट गरिएको छ। हुन त अन्य खेलाडीले पनि त्यो सफलता दिलाउन सक्छन्। तर एरिकाले पछिल्ला वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता पाएको सफलताले धेरैको आशा उनीमा छ।
एसियाली खेलकुदको २०औं संस्करणका लागि झन्ड दुई वर्षदेखि तयारी भएको छ। पहिलोपल्ट यति लामो समयदेखि तयारी गरिएको हो। त्यसैले पनि अघिल्ला संस्करणको तुलनामा यस पटक नयाँ इतिहास बन्ने आशा राखिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने लक्ष्यसहित दुई वर्षअघि मिसन २०२६ को नामबाट एसियाली खेलकुद प्रशिक्षण सुरु गराएका थिए। पदक दिलाउँदै आएका खेल र सम्भावना देखिएको करिब १० खेलका खेलाडी लामो समयदेखि प्रशिक्षणमा छन्।
२०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउँदै छन्। ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडी सहभागी हुने तयारी छ। प्रशिक्षक संख्या ३२ छ।
नेपाली कराते टोलीका प्रशिक्षक मण्डेकाजीले १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङ स्वर्ण पदकको लक्ष्यसहित अगाडि बढिरहँदा कातामा पनि पदक जित्ने लक्ष्यसहित प्रशिक्षणमा रहेको बताउँछन्। ‘यसपल्ट धेरै अगाडिदेखि तयारी भएको छ। नियमित प्रदर्शन र एरिकाको एकपछि अर्को सफलताले हामी सबैलाई प्रोत्साहित गरेको छ,’ प्रशिक्षक मण्डेकाजी भन्छन्। एसियाली खेलकुदको ७५ वर्षको यात्रामा नेपालले तीन रजत र २३ कांस्य सहित २६ पदक जितेको छ। तेक्वान्दो, कारते, बक्सिङ, पाराग्लाइडिङ र कबड्डीमा मात्र यी पदक प्राप्त भएको हो।
सबैभन्दा धेरै (एक रजत र १४ कांस्य) पदक जितेको नेपाली तेक्वान्दोले पछिल्ला चार संस्करणमा खराब प्रदर्शन गर्दै आएको छ। एक समय नेपालको सबैभन्दा सफल खेल तेक्वान्दो यसपल्ट छनोट चरण पनि पार गर्न असफल रह्यो। तर वाइल्ड कार्डको साहारामा तीन खेलाडी खेल्दैछन्।
तेक्वान्दोपछि बक्सिङले ६ कांस्य पदक जितेको छ। पछिल्लो पल्ट ग्वाङझाउ एसियाडमा दीपक महर्जनले बक्सिङमा पदक दिलाएका थिए। उनै दीपक अहिले टोली प्रशिक्षकका रूपमा जापानमा हुने एसियाली खेलकुदमा जाँदैछन्। उनको प्रशिक्षणमा रहेको टोलीमा चन्द्र थापा सबैभन्दा आशा गरिएको खेलाडी हुन्। उनले गत वर्ष युएईमा आयोजित आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए।
एसियाली खेलकुदमा पनि चन्द्रले सोही पदक दिलाउने आशा गरिएको छ। राखेप टिम तयारी समितिका उपनिर्देशक दीपक श्रेष्ठ खेलाडीका पछिल्ला नतिजा र मिसन २६ अन्तर्गत लामो तयारीका कारण यसपल्ट धेरै पदक जित्नेमा आशावादी भएको बताउँछन्। ‘हामी आशावादी हुनैपर्छ। विगतमा राम्रो तयारी नहुँदा पनि हामी आशावादी थियौं। यसपल्ट केही नयाँ र फरक भएको छ। तर यो नै पर्याप्त तयारी भने होइन। पछिल्ला समय खेलाडीको अन्तर्राष्ट्रिय सफलता र मिसन २०२६ को तयारीले गर्दा हाम्रो मिसन पूरा हुन्छ भन्नेमा हामी आशावादी छौं।’
करिब १८ महिनाको तयारी र मिसन २०२६ अन्तर्गत लामो तयारीबाट नेपाल यसपल्ट ऐतिहासिक स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउनेमा विश्वस्त छ। तर ४५ राष्ट्रका ११ हजार बढी खेलाडी सहभागी हुने एसियाली खेलकुदमा पदक जित्न सहज भने हुने छैन।
प्रकाशित: ९ भाद्र २०८३ ०६:५४ मंगलबार