खेल

२०औं एसियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई रोमाञ्चक सफलता

पहिलो हाफमा ९ अंकले पछाडि, दुईपल्ट अलआउट र डिफेन्स अस्तव्यस्त। यो नेपाली महिला कबड्डी टोलीको जापानमा जारी २०औं एसियाली खेलकुदमा कठिन अवस्थाको क्षण हो। जुन टोलीबाट देशले पदकको आशा गरेको थियो।

गत १९औं संस्करणमा नेपालको महिला कबड्डी कांस्य पदक विजेता पनि हो। खेल सकिन लाग्दासम्म पछि परेको क्षणले नेपाली खेलकुदकै ढुकढुकी बढाइरहन्थ्यो। लगातार हारको शृंखलामा यो पनि जोडिने चिन्ता बढ्दै थियो। खेल सकिन तीन मिनेट बाँकी छँदा प्रतिस्पर्धाले अर्कै दिशा लियो। नेपाली टोलीले सनसनीपूर्ण पुनरागमन गर्‍यो।

खेल सकिन तीन मिनेट बाँकी छँदा प्रतिस्पर्धाले अर्कै दिशा लियो। नेपाली टोलीले सनसनीपूर्ण पुनरागमन गर्‍यो। सुरुदेखि नै दबाबमा परेको नेपालले तीन मिनेट बाँकी छँदा ३९–३९ को बराबरी गर्‍यो। निर्णायक समयमा नेपालले धैर्यता गुमाएन। डिफेन्स र अफेन्स दुवैमा सुधार गर्‍यो। अन्ततः पदकको आशा गरेको नेपालले थाइल्यान्डलाई ४६–४३ ले हरायो।

यससँगै नेपाली महिला कबड्डी टोली एसियाली खेलकुदमा रोमाञ्चक जितको सुरुआत गर्‍यो। जुन नतिजा पुरुष टोलीले दिलाउन सकेन। नेपाली पुरुष कबड्डी टोलीको लगातार दुई हारसँगै दोस्रो चरणमा पुग्ने सम्भावना बन्द भइसकेको छ।

मानमती विष्टको कप्तानमा रहेको टोलीले भने एसियाली खेलकुदमा निरास नेपाललाई आशाको किरण दिएको छ। टोकाई सिटिजेन जिम्नाजियममा मंगलबार समूह ‘बी’ को खेलमा कठिन जितसँगै नेपालले सेमिफाइनल यात्रामा सहजता बनाएको छ। यस क्रममा नेपालले आफ्नो अनुभव र धैर्यको उपयोग गर्‍यो। खेलको सुरुआत अपेक्षाअनुसार भएन। थाइल्यान्डसँग सहज रूपमा विजयी हुने अनुमान थियो। तर, मैदानमा ठीक उल्टो दृश्य भयो।

थाइल्यान्डले सुरुदेखि नै दबाबमा राख्यो। नेपाली डिफेन्सको कमजोरी पहिल्याउँदै थाइल्यान्डका रेडरले लगातार अंक बटुलिरहे। अफेन्स पनि नेपालको अपेक्षित भएन। रेडर रोक्न नसक्दा थाइल्यान्डले अग्रता बढाउँदै लग्यो। यसपछि नेपाली खेलाडीहरू केही हतास देखिए। थाइल्यान्ड भने आत्मविश्वासका साथ खेलिरह्यो।

पहिलो हाफमा नेपाल दुईपल्ट अलआउट भयो। यसले थाइल्यान्डलाई थप बलियो अवस्थामा पुर्‍यायो। नेपालले बोनस अंकको सहारामा पछ्याइरह्यो। रबिना चौधरीले महत्त्वपूर्ण बोनस अंक निकाल्दै नेपाललाई खेलमा टिकाइराखिन् तर पनि पहिलो हाफमा नेपाल २४–१५ ले पछाडि पर्‍यो। ९ अंकले पछिसँगै दोस्रो हाफमा नेपाललाई खेल उल्टाउन ठूलो चुनौती थियो तर नेपालले रणनीति परिवर्तन गर्‍यो। पूर्वकप्तान मेनुकाकुमारी राजवंशीले कर्नरबाट कभरमा आफ्नो पोजिसन परिवर्तन गरिन्। कप्तान मानमतीले पनि कभरबाट कर्नर साइडमा खेल्न थालिन्। मानमती र रेनुका गत संस्करण नेपालले कांस्य पदक जित्दाका महत्त्वपूर्ण सदस्य हुन्।

यी दुईसँगै रबिना, सृजना थारु, जयन्ती बडु र गंगा घिमिरेले यसपटक पनि नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका छन्। दोस्रो हाफको सुरुदेखि नेपालको डिफेन्स सुधारियो। थाइल्यान्डका रेडरलाई रोक्ने क्रम बढ्यो। नेपालले विपक्षीलाई दबाबमा राख्न थाल्यो। यससँगै नेपाली रेडरले पनि थप आत्मविश्वासका साथ खेले। यो हाफमा नेपालले पनि विपक्षीलाई दुईपल्ट अलआउट गर्‍यो। थाइल्यान्डले भने अग्रता जोगाउन बोनस अंकमा बढी निर्भर हुनुपर्‍यो। जहाँ दुवैले समान आठ बोनस अंक पाए तर खेलको अन्तिम चरणमा नेपालको डिफेन्स निर्णायक बन्यो। अन्तिम ६ मिनेटमा नेपालले लगातार दबाब बनायो। एकपछि अर्को अंक जोड्दै नेपाल थाइल्यान्डको नजिक पुग्यो। खेल सकिन तीन मिनेट बाँकी हुँदा थाइल्यान्डकी रेडर इदाम पावारिसीलाई रोक्दै नेपालले महत्त्वपूर्ण अंक जोड्यो र स्कोर ३९–३९ मा पुर्‍यायो।

त्यो खेलको निर्णायक मोड बन्यो। बराबरीपछि नेपाली खेलाडीको आत्मविश्वास बढ्यो। थाइल्यान्ड भने अग्रता गुमाएपछि दबाबमा देखियो। रेडबाट अंक निकाल्दै नेपालले पहिलोपल्ट खेलमा अग्रता लियो। थाइल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि नेपाली डिफेन्सले सफल हुन दिएन। अन्तिम क्षणमा नेपालले संयमित अग्रता जोगायो। अन्ततः नेपालले ४६–४३ को जित सुरक्षित गर्‍यो। दोस्रो हाफमा नेपालले ३१ अंक बटुल्दा थाइल्यान्डले १९ अंक बटुल्यो। यही अन्तरले खेलको परिणाम बदल्यो। नेपालको जितमा रबिनाको भूमिका महत्त्वपूर्ण रह्यो। कठिन समयमा उनले बोनस अंक लिँदै खेलमा टिकाइराखिन्। डिफेन्समा सुधारपछि नेपाली टोलीले उनको आक्रमणलाई पनि प्रभावकारी रूपमा उपयोग गर्‍यो।

१९औं एसियाली खेलकुदको ऐतिहासिक कांस्य विजेता टोलीका ६ खेलाडी उपलब्धि दोहोर्‍याउन लक्ष्यमा छन्। उनीहरूको अनुभव कठिन समयमा काम लागेको देखाएको छ। नेपालका कप्तान मानमतीले थाइल्यान्डविरुद्ध पछि रहे पनि खेलमा फर्कने विश्वासमा रहेको बताइन्। ‘सुरुमा दबाबमा थिएनौं तर खेल सकिन लाग्दा चाहिँ दबाब भयो,’ उनले भनिन्, ‘रेडरले अंक दिलाइरहेका थिए। डिफेन्स चल्न नसक्दा बोनस पोइन्ट महत्त्वपूर्ण रह्यो।’

रणनीति परिवर्तनले खेलमा फर्कन सहयोग गरेको उनले बताइन्। ‘खेलमा फर्कन रणनीति परिवर्तन गर्‍यौं। त्यसले मद्दत गर्‍यो। मेरो र रेनुकाको पोजिसन परिवर्तनपछि उनीहरूलाई केही असहज भयो,’ मानमतीले भनिन्।

जितसँगै सेमिफाइनलको आधार तयार भएको छ। समूह ‘बी’ मा नेपालसँगै थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेई छन्। थाइल्यान्डले पहिलो खेलमा श्रीलंकालाई पराजित गरिसकेको छ।

नेपालले समूहको दोस्रो खेल बुधबार चाइनिज ताइपेईसँग खेल्नेछ। त्यसपछि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। चार राष्ट्र रहेको समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। अर्को समूह ‘ए’ मा भारत, इरान, बंगलादेश र आयोजक जापान छन्। पदकलाई रक्षा गर्ने लक्ष्य बोकेको नेपालका लागि यो जितले आत्मविश्वास बढाएको छ। तर, पहिलो खेलमै देखिएको कमजोरीले बाँकी खेलमा सुधारको आवश्यक देखिन्छ।

पुरुष टोलीको लगातार तेस्रो हार

लगातार तेस्रो हारसँगै नेपालको पुरुष कबड्डी टोलीको पदक जित्ने सम्भावना समाप्त भएको छ। टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार नेपालले इरानविरुद्ध २३–७६ को हार बेहोर्‍यो।

त्यसअघि मंगलबार बिहान नै नेपाली टोली पाकिस्तानसँग ५८–४३ ले पराजित भएको थियो। समूह ‘बी’ को लगातार तेस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ५९–४८ को नतिजा सुम्पिएको थियो।

समूह ‘बी’ मा पाकिस्तान र इरानले दुई खेलमा जित निकालिसकेका छन्। लिगपछि समूहका शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। त्यसैले अब नेपालको सम्भावना बाँकी छैन। नेपालले अब बुधबार मलेसियासँग खेल्ने तालिका छ। जुन नेपालका लागि सन्त्वना जित हुनेछ।  

प्रकाशित: ७ आश्विन २०८३ ०६:२४ बुधबार