खेल

एभर्टनले रोक्यो म्यान्चेस्टर युनाइटेडलाई

इंग्लिस प्रिमियर लिगमा आइन्सले मेटल्याण्ड-नाइल्सले शानदार बराबरी गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडसँग २–२ को बराबरी खेल्दै एक अंक जोगाएको छ।

इंग्ल्यान्डको लिभरपुलस्थित हिल डिकिन्सन स्टेडियममा आइतबार भएको खेलमा बेन्जामिन सेस्कोले ८७औँ मिनेटमा हेडमार्फत गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई जितको नजिक पुर्‍याएका थिए। तर, एभर्टनका खेलाडी आइन्सलेले ३० यार्ड टाढाबाट पहिलो टचमै उत्कृष्ट प्रहार गर्दै खेलको अन्तिम क्षणमा गोल गरेपछि घरेलु टोलीले अंक बाँड्न सफल भयो।

यससँगै म्यानचेस्टर युनाइटेडले सिजनका सुरुवाती तीन खेलबाट चार अंक जोड्दै प्रिमियर लिगको ११औँ स्थानमा रहेको छ। एभर्टन भने समान तीन खेलबाट पाँच अंकसहित आठौँ स्थानमा छ।

दोस्रो हाफको सुरुवातमै ब्रायन एम्बुमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, एभर्टनले खेलमा आफ्नो प्रभाव बढाउँदै लग्यो र टाइरिक जर्जले शक्तिशाली प्रहारमार्फत ८२औँ मिनेटमा बराबरी गोल गरे।

त्यसपछि ८७औँ मिनेटमा सेस्कोले लुक शको क्रसमा हेड गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए। युनाइटेडले तीन अंक पक्का गरेको जस्तो देखिए पनि मेटल्याण्डले अन्तिम क्षणमा उत्कृष्ट गोल गर्दै एभर्टनलाई हारबाट जोगाए।

पहिलो हाफमा ब्रुनो फर्नान्डेसको प्रहार क्रसबारमा लागे पनि युनाइटेडले खेलमा दुई पटक अग्रता लिएर पनि जित हात पार्न नसक्दा निराश हुनुपरेको छ।

दोस्रो हाफ सुरु भएको एक मिनेटमै एम्बुमोले गरेको प्रहारलाई टाढाको कुनामा गोलमा परिणत गरेका थिए।

६६औँ मिनेटमा एभर्टनले ज्याक ग्रिलिसलाई मैदान प्रवेश गराएको थियो। मर्सीसाइडमा दोस्रो लोन स्पेल सुरु गरेका ग्रिलिसले एभर्टनको आक्रमणलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेले।

यस बराबरीसँगै एभर्टनले सिजनको अपराजित सुरुवात कायम राखेको छ भने म्यानचेस्टर युनाइटेडले सुरुवाती तीन खेलबाट अपेक्षित प्रदर्शन गर्न नसकेको देखिएको छ।

प्रकाशित: २२ भाद्र २०८३ ०८:५१ सोमबार