माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई प्राथमिकतामा राखेर आयोजना हुँदै आएको उक्त साहसिक दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिकता प्रदान गरेको हो।
अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई तीन अङ्क प्रदान गरेको छ। मान्यता प्राप्त ट्रेल दौड पूरा गर्ने धावकले दूरी र उचाइको कठिनाइअनुसार अङ्क प्राप्त गर्छन्। यस्ता अङ्कले धावकलाई अन्तर्राष्ट्रिय स्तरका ठूला ट्रेल दौडमा छनोट हुन सहयोग पुग्नेछ।
अन्तर्राष्ट्रिय मान्यता पाएसँगै गाउँपालिकाले स्थानीय पर्यटन र खेलकुदलाई थप उचाइमा पुर्याउने अपेक्षा गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले थप सार्थकता पाएको बताए। यसबाट स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
करिब ४८ किलोमिटर लामो दौडको उचाइ करिब २ हजार ९१४ मिटर रहेको छ। प्रतियोगिता पूरा गर्न धावकलाई अधिकतम ७ घण्टा ४५ मिनेट समय दिइनेछ। दौड समुद्री सतहबाट करिब १ हजार ८०३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रङ्गशालाबाट सुरु भएर विभिन्न हिमाली तथा ग्रामीण क्षेत्र हुँदै पुनः त्यहीँ पुगेर समापन हुनेछ।
दौडका क्रममा सहभागीले सगरमाथा, कञ्चनजङ्घा, नुम्बुर, थामसेर्कु र मेरा पिकलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाउनेछन्। साथै ब्लास झरना र कैलाशनाथ महादेव मन्दिरजस्ता प्राकृतिक तथा धार्मिक स्थल पनि मार्गमा पर्नेछन्।
दौडको सबैभन्दा उच्च बिन्दु ३ हजार १८१ मिटर उचाइमा रहेको कुधम उच्च शिविर क्षेत्र हो। प्राकृतिक सौन्दर्य र साहसिक चुनौती समेटिएको यस प्रतियोगिताले सोलुखुम्बुको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ भाद्र २०८३ १६:३३ बुधबार