खेल

एसियाली खेलकुद: औसत प्रदर्शनले पनि पुगेन आर्चरीमा

नेपाली आर्चरी टोलीको औसत प्रदर्शनसँगै जापानमा जारी २०औं एसियाली खेलकुदमा चुनौती सकिएको छ। नागोयामा मंगलबार तिलक पुनमगर र ज्ञानु अवालेको प्रतिस्पर्धासँगै नेपालको चुनौती समाप्त भएको हो।

पानी परिरहेको थियो, तीर चलिरहेका थिए तर नेपाली आर्चरीको निसाना बोर्डमा चुकिरहेका थिए, तयारीकै कमजोरी पनि देखिँदै थियो। पानीमा अभ्यासको अभाव र एसियाली स्तरको बढ्दो दूरीबिच तिलक पुनमगर र ज्ञानु अवाले मंगलबार कतारका खेलाडीसँग पराजित भए। त्यससँगै २०औं एसियाली खेलकुदमा नेपालको आर्चरी चुनौती समाप्त भयो।

ओकाजाकी चुओ सुगो पार्कमा भएको व्यक्तिगत रिकर्भको नकआउट चरणमा तिलक कतारका अहमद अल सादासँग ६–२ ले तथा ज्ञानु कतारकै रिम अल साईसँग ७–१ ले पराजित भए। यसअघि मिक्स्ड रिकर्भमा पनि तिलक र ज्ञानुको जोडी पहिलो चरणबाटै बाहिरिएको थियो।

नतिजाले नेपाली आर्चरीको एसियाड यात्रा टुंग्यायो। तर, नागोयाको मैदानमा देखिएको कथा हारमा मात्र सीमित रहेन। बरु यसपटकको प्रतियोगिताले नेपाली आर्चरीको वर्तमान अवस्था र भविष्यको बाटो दुवै प्रस्ट पारिदिएको छ। नेपालमा खेलाडीको प्रदर्शन सुधार हुँदै छ।

स्कोर पनि माथि उठिरहेको छ तर एसियाका प्रतिस्पर्धी राष्ट्रहरू जुन गतिमा अगाडि बढिरहेका छन्, नेपाली आर्चरीले त्यो गति भेट्टाउन सकेको छैन। त्यसमाथि जापानको पानीले समस्या थपिदियो। ज्ञानुका लागि त पानीमा लगातार खेल्नु नै नयाँ अनुभव थियो। नेपालमा प्रशिक्षणका क्रममा पानी परेको अवस्थामा पर्याप्त अभ्यास नगरेका कारण प्रतियोगिताको सुरुदेखि नै उनले फरक परिस्थितिको सामना गर्नुपर्‍यो।

‘यसपालि सोचेअनुसार प्रदर्शन हुन सकेन। नेपालमा पानी पर्दाखेरि हामीले प्रशिक्षण गरेका थिएनौं,’ ज्ञानुले भनिन्, ‘यो प्रतियोगितामै पहिलोपटक पानी परेको हो।स्कोरिङ राउन्डदेखि आजसम्म पानी परिरह्यो। पानीमा हान्ने बानी नभएकाले गाह्रो भयो।’ आर्चरीमा एउटा तीरले खेलको दिशा बदल्न सक्छ। त्यसैले मौसम सामान्य कुरा होइन। पानी, हावा, चिसो र उपकरणको अवस्थाले खेलाडीको एकाग्रता र स्कोरमा प्रत्यक्ष प्रभाव पार्छ।

नेपालमा भने यस्तो परिस्थितिमा नियमित प्रशिक्षणको अवसर सीमित छ। जापानमा पुगेपछि पानीसँगै खेल्नुपर्ने बाध्यता आयो। प्रतियोगिताअघि केही समय पानीमा अभ्यास गर्ने प्रयास भए पनि त्यसले पर्याप्त तयारी दिन सकेन। नेपाली टोलीका प्रशिक्षक प्रेमप्रसाद पुन पनि यसलाई स्वीकार गर्छन्।

‘पानीमा पनि एक–दुई हप्ता जति ट्राई गरेका थियौं। तर अझै लामो प्रक्रिया लिनुपर्ने रहेछ,’ उनले भने, ‘हामीले त्यसमा अलि फेल खायौं।’

तर नेपाली आर्चरीको समस्या पानीमा मात्र थिएन। मंगलबारको खेलले एसियाली आर्चरीको स्तर र नेपालको तयारीबिचको दूरी पनि देखायो। प्रशिक्षक पुनका अनुसार नेपालले आफ्नो औसत स्तरमा प्रदर्शन गरिरहेको छ तर एसियाका अन्य राष्ट्रहरू भने त्यही औसतमा रोकिएका छैनन्। उनीहरू नयाँ पुस्ताका खेलाडी लिएर अझ माथि पुगिसकेका छन्। ‘नेपालमा जति ट्रेनिङ गरेको थियो, त्यत्तिको चाहिँ एभरेजमै हान्ने हो। त्यो एभरेजभन्दा अलिकति माथि हान्नुपर्ने थियो,’ पुनले भने, ‘समग्रमा हेर्दा सबै कुरा राम्रै भयो।’

तर ‘राम्रै’ प्रदर्शन एसियाडमा पर्याप्त भएन। अन्तर्राष्ट्रिय स्तरसँग तुलना गरेर तयारी गर्नुपर्ने आवश्यकता नागोयाले देखाएको छ। तिलकको प्रदर्शनमा त्यो विरोधाभास स्पष्ट देखियो। कतारका अहमद अल सादासँगको खेलमा तिलकले राम्रो सुरुआत गरे। पहिलो सेटमा २५ अंक बनाए पनि अल सादाले २६ अंक जोड्दै सेट आफ्नो पक्षमा पारे। दोस्रो सेट पनि कतारी खेलाडीले २६–२५ ले जिते।

तर तेस्रो सेटमा तिलकले खेलमा फर्किने संकेत दिए। उनले २८ अंक जोड्दै अल सादालाई २५ अंकमा रोके। निर्णायक अवस्थामा तिलकको एरोमा आत्मविश्वास देखियो। तर चौथो सेट फेरि एक अंकको अन्तरमा गयो। अल सादाले २८ अंक जोड्दा तिलक २७ मा रोकिए। खेल ६–२ ले विपक्षीको पक्षमा गयो र तिलकको एसियाड यात्रा सकियो। हारका बावजुद तिलकले आफ्नो स्कोर सुधारिएको बताए तर तिलक आफैं भने आफ्नो स्कोरमा सुधार भए पनि नतिजाले सन्तुष्ट छैनन्।

‘आफ्नो बेस्ट दिँदादिँदै पनि यहाँ आएर के महसुस भयो भने अरू देशको लेभल झन् कहाँ पुगिसकेको रहेछ,’ उनले भने, ‘आफ्नो बेस्टले पनि अरूको अगाडि पुग्न अलि गाह्रो भयो।’

उनको निराशा अझ बढाउने अर्को कारण थियो, प्रतिद्वन्द्वीको वरीयता। अहमद अल सादा वरीयतामा आफूभन्दा तल रहेकाले तिलकले जितको अपेक्षा गरेका थिए। ‘कतारलाई त मैले जित्छु कि भन्ने थियो नै। उसको र्‍याङ्किङ पनि मभन्दा तल थियो,’ उनले भने, ‘मैले जित्छु कि भन्ने आस थियो तर खेल नै हो। हारजितको टुंगो हुँदैन। ऊसँग हारियो, दुःख लागेको छ।’  

महिला व्यक्तिगत रिकर्भमा ज्ञानुको यात्रा पनि उस्तै भयो। कतारकी रिम अल साईसँगको खेलमा ज्ञानुले पहिलो सेट २३–२७ ले गुमाइन्। दोस्रो सेटमा भने उनले सुधार गर्दै २५–२५ को बराबरी गरिन् तर तेस्रो सेट १९–२४ र चौथो सेट २४–२९ ले गुमाएपछि खेल ७–१ ले रिमको पक्षमा गयो। ज्ञानुले पनि पानीलाई आफ्नो प्रदर्शनमा परेको मुख्य प्रभावमध्ये एक मानेकी छन्। ‘स्कोरिङ पनि नराम्रो भयो, अनि अघि नकआउट पनि नराम्रो भयो। १–६ ले गएँ,’ उनले भनिन्। तर उनको निष्कर्ष हारभन्दा ठूलो छ। नेपाली खेलाडीले अब अन्तर्राष्ट्रिय एक्सपोजर खोज्नुपर्ने उनको धारणा छ।

‘यो लेभलमा प्रतिस्पर्धा गर्नका लागि फस्र्टमा एक्सपोजर चाहियो,’ ज्ञानुले भनिन्, ‘त्यसपछि हामीलाई पनि कुनै इन्टरनेसनल ट्रेनिङमा पठाएको भए अलिक राम्रो हुन्थ्यो। राम्रो गर्न सक्थ्यौं हामीले।’

यो भनाइ नेपाली आर्चरीको भविष्यका लागि महत्त्वपूर्ण छ। एसियाडजस्तो प्रतियोगितामा खेल्नुअघि केही दिनको तयारी वा सीमित अन्तर्राष्ट्रिय सहभागिताले मात्र उच्चस्तरीय खेलाडी तयार पार्न कठिन हुन्छ। फरक देश, फरक मौसम, फरक हावा र फरक दबाबमा नियमित खेल्ने वातावरण आवश्यक हुन्छ। मिक्स्ड रिकर्भमा पनि नेपालले यही चुनौती सामना गर्‍यो। तिलक र ज्ञानुको जोडी पहिलो चरणमै संयुक्त अरब इमिरेट्सका आइसा अलाली र खालिफा अल्काबीको जोडीसँग ६–२ ले पराजित भएको थियो। व्यक्तिगत स्पर्धामा पनि दुवै कतारसँग रोकिए।

पदकको हिसाबले असफल भए पनि नागोयाले नेपाली आर्चरीलाई केही स्पष्ट प्रश्न छाडेको छ। के स्कोर सुधारेर पुग्छ? घरेलु प्रशिक्षण पर्याप्त हुन्छ? प्रतियोगिताअघि केही दिनको अन्तर्राष्ट्रिय एक्सपोजरले एसियाली स्तरको सामना गर्न सकिन्छ? उत्तर सहज छैन। प्रशिक्षक पुनका अनुसार नेपाली खेलाडीको प्रदर्शन सुधारिएको छ तर अरू राष्ट्रको युवा पुस्ता निकै अगाडि पुगिसकेको छ। ‘हामी आफ्नो एभरेजमा ठीकै छौं। तर अरू टिम हामीभन्दा निकै माथि गइसकेका रहेछन्,’ उनको भनाइ छ।

त्यसैले अब नेपाली आर्चरीले आफ्नो प्रशिक्षणको ढाँचा नै बदल्नुपर्ने देखिन्छ। अन्तर्राष्ट्रिय प्रशिक्षण, नियमित प्रतियोगिता, विभिन्न मौसममा अभ्यास र उच्चस्तरीय प्रतिद्वन्द्वीविरुद्ध निरन्तर खेल्ने अवसर अपरिहार्य बनेको छ। नागोयामा नेपाली आर्चरीको चुनौती समाप्त भएको छ तर तिलकको सुधारिएको स्कोर र ज्ञानुको अन्तर्राष्ट्रिय अनुभवले भविष्यका लागि केही आधार भने दिएको छ।

तिलकले ओलम्पिकको न्यूनतम क्वालिफाइङ स्कोरको लक्ष्य भेट्टाएका छन्। ज्ञानुले अन्तर्राष्ट्रिय स्तरको कठोरता प्रत्यक्ष महसुस गरेकी छन्। प्रशिक्षकले तयारीको कमजोरी पहिचान गरेका छन्। अब प्रश्न एउटा मात्र छ - त्यो अनुभवलाई नेपाल फर्किएपछि कसरी प्रयोग गर्ने?

किनकि एसियाडको मैदानमा नेपाली आर्चरीले केवल हार बेहोरेको छैन। उसले आफ्नो कमजोरी देख्ने अवसर पनि पाएको छ। पानीले तीरको दिशा प्रभावित गर्‍यो तर पानीभन्दा ठूलो चुनौती एसियाली आर्चरीको बढ्दो स्तर रह्यो। नेपालले आफ्नो स्कोर बढाएको छ। तर प्रतिस्पर्धी राष्ट्रले आफ्नो स्तर अझ तीव्र गतिमा बढाएका छन्। त्यसैले अब लक्ष्य बोर्डमा मात्र राखेर पुग्दैन। लक्ष्यभन्दा अगाडि पुगिसकेको एसियाली आर्चरीलाई पछ्याउने गरी नेपाली प्रशिक्षणको गति पनि बढाउनुपर्नेछ।

नागोयामा तिलक र ज्ञानुको तीर रोकिएको छ तर उनीहरूको हारले नेपाली आर्चरीका लागि अर्को लक्ष्य भने तय गरिदिएको छ। अब आफ्नै स्तरसँग होइन, एसियाको स्तरसँग प्रतिस्पर्धा गर्ने।  

प्रकाशित: १४ आश्विन २०८३ ०६:२७ बुधबार