नेपाली यु–२० महिला टोलीकी स्ट्राइकर मीना देउवाले अन्तिम तथा निर्णायक खेलमा तीन गोल खाँदासम्म पुनरागमन गर्न सक्छौं भन्ने आत्मविश्वास रहेको बताएकी छन्।
बङ्गलादेशमा सोमबार सम्पन्न निर्णायक तथा अन्तिम खेलमा घरेलु टोलीसँग ४–० ले पराजित भएसँगै नेपाल लगातार दोस्रोपल्ट साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्नबाट वञ्चित भएको थियो।
यो हारसँगै चार राष्ट्र सहभागी च्याम्पियनसिपको लिगमा दोस्रो स्थानमा खुम्चिएपछि यसपल्ट पनि उपाधि जित्ने नेपालको सपना पूरा हुन सकेन।
लिगमा ६ खेलमा नै अपराजित रहँदै बङ्गलादेश शीर्षमा रहँदा नेपाल दुई खेल गुमाउँदै दोस्रो स्थानमै सीमित भयो। फेरि नेपाल सन् २०२३ पछि उपविजेतामा सीमित हुनुको पछाडि मंगलबार घरेलु टोलीसँगको हार हो। त्यो खेलमा नेपालले निकै खराब प्रदर्शन पनि गर्यो।
मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्राइकर मीनाले तीन गोल बेहोर्दासम्म हामी पुनरागमन गर्न सक्छौं भन्ने आत्मविश्वास रहेको बताएकी हुन्। तर, आफ्ना गोलकिपर र डिफेन्सबीच तालमेल पनि नमिल्दा खेलमा समस्या भएको उनी बताउँछिन्।
बङ्गलादेशको क्विक फरवार्डलाई आफूहरूको डिफेन्स लाइनले रोक्न नसकेको मीनाले उल्लेख गरिन्। प्रतियोगिताभर उनले ६ खेलमा कुल सात गोल गरेकी थिइन्। साथै मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन्।
सोचेअनुरूप खेल्न सकेकोमा आफू खुसी रहेको उनको भनाइ छ। तर, अन्तिम खेलमा भने राम्रो प्रदर्शन गर्न नसकिएको उनले स्वीकार गरिन्। पहिलो खेलमा अन्तिम समयमा गोल बेहोर्दै हार बेहोर्नुपर्दा धेरै दुःख लागेको उनले उल्लेख गरिन्।
यसपल्ट जितेर नै जान्छौं भन्ने लक्ष्यसहित खेले पनि नतिजा फरक आएको मीनाको भनाइ छ। प्रशिक्षकहरूको योजनाअनुरूप मैदानमा प्रदर्शन गर्न सके सिनियर टोलीमा स्थान बनाउने सकिने मीनाको विश्वास छ।
नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले सकेसम्म राम्रो खेल्ने लक्ष्य भए पनि सफल नभएको बताइन्। डिफेन्स लाइनमा समस्या हुँदा खेलमा असर परेको उनले बताइन्। मिडफिल्ड र डिफेन्सबीच पनि तालमेल नमिलेको उनी बताउँछिन्।
नेपालकी स्ट्राइकर पूर्णिमा राईले उक्त प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट पाइन्। पूर्णिमाले यो संख्यामा गोल गर्छु भन्ने नरहे पनि स्ट्राइकरको भूमिकाअनुरूप काम गर्न सकेकोमा खुसी लागेको बताइन्। तर, अन्तिम खेलमा गोल गर्न नसक्दा आफूलाई धेरै दुःख लागेको उनी बताउँछिन्।
बङ्गलादेशले लामो समयदेखि तयारी गर्दा टिम सेट भएको र आफूहरूले एक महिनाको मात्र तयारी गरेकाले खेलमा प्रभाव देखिएको उनको भनाइ छ। आफ्नो टोलीले पनि राम्रो अनुभव पाए बङ्गलादेशजस्तो प्रदर्शन सम्भव रहेको उनी बताउँछिन्।
लगातार मिहिनेत गरे राष्ट्रिय टोलीसम्म पुग्न सक्ने उनको विश्वास छ । सेट पिसमा गोल गर्ने योजना सफल भएन: प्रशिक्षक नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा उपाधि जित्न असफल भएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गुरुङले अन्तिम खेलमा जित्नैपर्ने दबाब र पाँचवटा खेल २४ घण्टाको अन्तरमा खेल्नुपर्दा खेलाडीमा थकान रहेकाले सोचेअनुरूप प्रदर्शन हुन नसकेको बताए।
धेरै राम्रो रहेको बङ्गलादेशको टोलीविरुद्ध खेल्दा आफ्ना खेलाडीले राम्रो आराम गर्न नपाउनुले समस्या भएको प्रशिक्षक गुरुङको भनाइ छ। विपक्षी आफूहरूभन्दा बिल्डअपमा धेरै राम्रो रहेकाले सेट सिपमा ध्यान दिएर खेले पनि त्यसमा सफल नभएको प्रशिक्षक गुरुङ बताउँछन्।
प्रशिक्षक गुरुङले विपक्षी टोलीसँग सात जना राष्ट्रिय टोलीको सदस्य रहँदा उनीहरू त्यसको सदुपयोग गरेको पनि उल्लेख गरे। बङ्गलादेशको अनुभवी खेलाडी, होम ग्राउन्ड र आफ्ना खेलाडी थकित हुँदा अन्तिम खेलको नतिजामा धेरै फरक परेको उनको बुझाइ छ।
उनले ट्याक्टिल समस्याभन्दा पनि थकान हुँदा मसल टाइट भएपछि राम्रोसँग खेल्न नसकेको दाबी गरे। उपाधिविहीन भए पनि ठूलो दर्शकका माझ कसरी खेल्ने भन्नेबारे खेलाडीले सिकेको प्रशिक्षक गुरुङले बताएका छन्।
उनले पूर्णिमा राई, मीना देउवा, बिर्सना चौधरी, सुक्रिया मिया, सेनु परियार र सिमरन राई जस्ता खेलाडी छिट्टै राष्ट्रिय टोलीमा आउन सक्ने आशा व्यक्त गरेका छन्। यद्यपि, पूर्णिमाले पहिलो तीन खेलजस्तो अन्य खेलमा प्रदर्शन गर्न नसकेको पनि उल्लेख गरेका छन्।
बंगलादेशसँगको पहिलो खेलमा बराबरी हुने स्थिति भए पनि खेल गुमाउने परेको उल्लेख गरे। राम्रोसँग आराम गर्न नपाउँदा खेलाडीहरू थकित भएकाले सोचेअनुरूप नतिजा आउन नसकेको उनी बताउँछन्। त्यहाँको मौसम र खानपानले गर्दा पनि खेलाडीहरूको लागि सहज नभएको प्रशिक्षक गुरुङले उल्लेख गरेका छन्।
विमास्थलमा टोलीको स्वागत। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: ६ श्रावण २०८२ २१:४७ मंगलबार