खेल

युरोपेली भूमिमा नतिजा निकाल्न सहज छैन, तर जित्ने मानसिकता छ: रोहित

क्याप्शन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युरोपको ‘अवे कन्डिसन’ मा खेल्न सहज नभए पनि नेदरल्यान्ड्स र नामिबियालाई हराउने मानसिकताका साथ मैदान उत्रिने बताएका छन्।

आगामी जुलाई २१ तारिखदेखि नेदरल्यान्ड्समा सुरु हुने त्रिदेशीय शृंखला खेल्न जानुअघि आयोजित बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहितले यस्तो बताएका हुन्।

लिग-२ को अङ्कतालिकामा नेदरल्यान्ड्स नेपालभन्दा माथि छ भने समान २८ खेल खेलेको नामिबियाभन्दा नेपाल दुई अङ्कले मात्र अगाडि छ।

घरेलु मैदानको तुलनामा युरोपेली भूमिमा नतिजा निकाल्न कठिन हुने उनले स्वीकार गरे। यद्यपि, टिमको ‘कम्बिनेसन’ उत्कृष्ट रहेको र पछिल्ला दुई शृंखलाको सुखद नतिजाले टोलीको मनोबल उच्च रहेकाले त्यही लयलाई युरोपमा पनि निरन्तरता दिने उनको विश्वास छ।

‘युरोप भ्रमणमा नतिजा निकाल्न सहज छैन, दुईवटा अवे सिरिजमध्ये यो निकै कठिन हुनेछ,’ कप्तान रोहितले भने, ‘तर, हामीले त्यहीअनुसारको तयारी गरेका छौं र नेदरल्यान्ड्समा जतिसक्दो राम्रो प्रदर्शन गर्दै दुवै टोलीलाई हराउने लक्ष्य छ।’

गत अप्रिल र मे महिनामा घरेलु मैदानमा खेलेका दुई शृंखलाका कुल आठमध्ये ६ वटा खेलमा जित हात पार्दै नेपालले लिग-२ को शीर्ष तीनमा पर्ने सम्भावनालाई जीवन्त राखेको छ।

सन् २०२३ देखि २०२७ सम्म चल्ने लिग-२ साइकलअन्तर्गत नेपालले अब अन्तिम दुईवटा शृंखला खेल्न बाँकी छ।

प्रकाशित: २१ असार २०८३ २०:४४ आइतबार