खेल

‘बक्सिङ डे टेस्ट’मा १४ वर्षपछि इंग्ल्यान्डको ऐतिहासिक जित, अन्तिम खेल सिड्नीमा हुने

अस्ट्रेलियाको मेलबर्नमा भएको ‘बक्सिङ डे टेस्ट’मा इंग्ल्यान्डले अस्ट्रेलियालाई ४ विकेटले हराउँदै १४ वर्षपछि पहिलो टेस्ट जित हात पारेको छ। बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले दुई दिनभित्रै खेल समाप्त गर्दै १७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो।

इंग्ल्यान्डले टस जितेर पहिले बलिङ रोजेको थियो। अस्ट्रेलिया पहिलो इनिङमा १५२ रनमा अलआउट भएको थियो। इंग्ल्यान्ड पहिलो इनिङमा ११० रनमा अलआउट भयो। अस्ट्रेलिया दोस्रो इनिङमा १३२ रनमा अलआउट भयो।

यो जितसँगै शृङ्खलाको अवस्था ३–१ पुगेको छ। अस्ट्रेलियाले घरेलु मैदानमा दुवै इनिङमा २०० रनभन्दा कममा अलआउट भएको यो नौ वर्षमा पहिलो पटक हो। शृङ्खलाको अन्तिम टेस्ट जनवरी ४ देखि सिड्नीमा हुनेछ।

स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलियाली टिममा ट्राभिस हेड, जेक वेदरल्ड, मार्नस लाबुस्चेन, उस्मान ख्वाजा, एलेक्स केरी (विकेटकिपर), क्यामरुन ग्रिन, माइकल नेसर, मिचेल स्टार्क, झाई रिचर्डसन, स्कट बोलान्ड रहेका थिए।

त्यस्तै, बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डको टोलीमा ज्याक क्राउली, बेन डकेट, ज्याकब बेथेल, जो रुट, ह्यारी ब्रुक, जेमी स्मिथ (विकेटकिपर), विल ज्याक्स, गस एटकिन्सन, ब्रायडन कार्से, जोश टङ्गु रहेका थिए।

प्रकाशित: १२ पुस २०८२ १२:५२ शनिबार