२०२६ फिफा विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा इंग्ल्याण्ड घानासँग गोलरहित बराबरीमा रोकिएको छ। पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेर आत्मविश्वासमा रहेको इंग्ल्याण्ड यस खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रह्यो।
प्रशिक्षक थोमस टुचेलको टोलीलाई जित हासिल गरे अन्तिम ३२ मा स्थान पक्का हुने अवसर थियो, तर घानाको मजबुत र संगठित रक्षापंक्तिले इंग्ल्याण्डलाई निराश बनायो।
खेलको ५७ औं मिनेटसम्म इंग्ल्याण्डले लक्ष्यतर्फ एउटा पनि प्रभावकारी प्रहार गर्न सकेन। यसबीच घानाले काउन्टर अट्याकमार्फत केही खतरनाक अवसर सिर्जना गर्दै इंग्ल्याण्डको रक्षापंक्तिलाई दबाबमा राख्यो।
खेलको गतिरोध तोड्न टुचेलले जुड बेलिङ्घमलाई बाहिर निकाल्दै मोर्गन रोजर्सलाई मैदान पठाए भने बुकायो साकालाई पनि मैदानमा उतारे। साकाले उत्कृष्ट अवसर सिर्जना गरे पनि घानाका गोलरक्षक बेन्जामिन असारेले शानदार बचाउ गरे।
अर्काे विकल्प खेलाडी निको ओ’राइलीको हेडर क्रसबारमा लागेर फर्किएको थियो भने मार्क गुएहीको हेडर गोललाइनबाट क्लियर गरियो, जसले इंग्ल्याण्डलाई अग्रता लिनबाट रोक्यो।
खेलको अन्त्यतिर इंग्ल्याण्ड भाग्यमानी सावित भयो, जब डिफेन्डर एज्री कोन्साले पेनाल्टी क्षेत्रभित्र प्रिन्स क्वाबेना अडुलाई बल नछोई लडाएका थिए। घानाले पेनाल्टीको दाबी गरे पनि रेफ्रीले कुनै निर्णय दिएनन्।
बराबरीपछि इंग्ल्याण्ड समूह ‘L’ को शीर्ष स्थानमा कायम रहे पनि अब विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्न अन्तिम खेलमा पानामाविरुद्ध नतिजा निकाल्नुपर्ने दबाब बढेको छ।
क्रोएसियाविरुद्ध आकर्षक आक्रमण शैली देखाएको इंग्ल्याण्ड यस खेलमा भने सिर्जनात्मक खेल प्रस्तुत गर्न असफल रह्यो। घानाले गहिरो रक्षात्मक रणनीति अपनाउँदा इंग्ल्याण्डसँग त्यसको जवाफ थिएन।
विश्व वरियतामा ६४ औं स्थानमा रहेको घानाले इंग्ल्याण्डलाई कडा चुनौती दिँदै प्रतियोगितामा आफूलाई कमजोर टोली नठान्न सन्देश दिएको छ।
प्रकाशित: १० असार २०८३ ०७:०२ बुधबार