फिलिपिन्सकी एलेक्स एला सिनसिनाटी ओपनको अन्तिम १६ मा पुग्न असफल भएकी छन्।
विश्व नम्बर १० अमान्डा एनिसिमोभासँग ४–६, ६–४, ६–२ ले पराजित भएपछि उनको प्रतियोगिता यात्रा समाप्त भएको हो। सोमबार अमेरिकाको ओहायोमा भएको खेलमा एला पहिलो सेट जित्दै बलियो सुरुवात गरेकी थिइन्। सातौँ खेलमा सर्विस गुमाए पनि उनले लगातार तीन गेम जित्दै सेट आफ्नो पक्षमा पारिन्।
दोस्रो सेटमा एनिसिमोभाले सातौँ गेममा ब्रेक गर्दै ४–३ को अग्रता लिइन्। त्यसलाई जोगाउँदै उनले सेट ६–४ ले जितेर खेल निर्णायक सेटमा पुर्याइन्। तेस्रो सेटमा एला २–० ले अघि बढे पनि एनिसिमोभाले उत्कृष्ट पुनरागमन गरिन्। अमेरिकी खेलाडीले लगातार छ गेम जित्दै निर्णायक सेट ६–२ ले आफ्नो नाममा गरिन्।
यो हारसँगै एला शीर्ष १० की खेलाडीविरुद्ध करिअरको १०औँ जित निकाल्नबाट पनि चुकिन्। यस सिजन उनले शीर्ष १० का खेलाडीविरुद्ध नौमध्ये सात जित हासिल गरेकी थिइन्। अब २१ वर्षीया एलाको ध्यान यूएस ओपनमा केन्द्रित हुनेछ। उनले त्यहाँ महिला एकलसँगै फेलिक्स अँगर–अलियासिमेसँग मिश्रित डबल्समा पनि प्रतिस्पर्धा गर्नेछिन्।
प्रकाशित: ३ भाद्र २०८३ ०९:१९ बुधबार