खेल

पब्जी मोबाइल च्याम्पियनसिपको उपाधि डट्स ई–स्पोर्ट्सलाई

ई-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ।

दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्सले उपाधिसँगै ४ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।

उपाधि विजेतासँगै यस प्रतियोगिताबाट उत्कृष्ट १२ टोली ‘रोड टु पीएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गर्न सफल भएका छन्। यस छनोटले नेपाली ई-स्पोर्ट्स टोलीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बाटो खुला गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रमअन्तर्गत यो प्रतियोगिता आयोजना भएको हो। देशभरबाट छनोट चरण पार गर्दै आएका उत्कृष्ट १६ टोलीले भदौ ६ र ७ गते भएको फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

विजेता टोली तथा खेलाडीहरूलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले ट्रफी तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

नेपालमा ई-स्पोर्ट्स क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने मुख्य उद्देश्यसहित प्रतियोगिताको सफल आयोजना गरिएको ई-स्पोर्ट्स एसोसिएसनका सचिव आशिष दाहालले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०८३ २२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App