खेल

चीन ओपनमा जोकोभिचको विजयी सुरुवात

नोभाक जोकोभिचले चीन ओपनमा विजयी सुरुवात गर्दै दोस्रो चरणमा स्थान बनाएका छन्। जोकोभिचले पोर्चुगलका नुनो बोर्गेसलाई ६-३, ७-६ (७-२) ले पराजित गरेका हुन्।

३९ वर्षीय जोकोभिचले विम्बल्डनको सेमिफाइनलपछि पहिलो जित निकालेका हुन्। बेइजिङमा उनको यो लगातार ३०औं जित हो। उनले चीन ओपनमा सन् २०१५ पछि पहिलोपटक सहभागिता जनाएका हुन्।

बोर्गेसविरुद्धको खेलमा जोकोभिचले दोस्रो सेटमा केही संघर्ष गर्नुपरेको थियो। खेलका क्रममा उनले र्‍याकेटको सहायताले आफ्नो ढाड तन्काएका थिए भने दायाँ काँधमा उपचारका लागि मेडिकल टाइमआउटसमेत लिएका थिए। त्यसका बाबजुद उनले एक घण्टा ५० मिनेटमा खेल आफ्नो पक्षमा पारे।

जोकोभिचले गत अगस्टमा पछिल्ला केही वर्षदेखि गर्मी र आर्द्र मौसममा समस्या हुने स्वास्थ्य अवस्थासँग जुधिरहेको बताएका थिए।

२४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले अब चीनका वाइल्डकार्ड खेलाडी बु युनचाओकेतेसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। चीन ओपनमा सातौं पटक उपाधि जित्दै कीर्तिमान बनाउने लक्ष्यमा रहेका जोकोभिचले प्रतियोगितामा ११ वर्षपछि पुनरागमन गरेका हुन्।

महिला एकलतर्फ बेलायतकी केटी बोल्टरले पनि दोस्रो चरणमा स्थान बनाएकी छन्। उनले जापानकी माइ होन्तामालाई ६-३, ६-४ ले पराजित गरिन्।

३० वर्षीया बोल्टरले अब दोस्रो चरणमा सातौं वरीयताकी चेक गणतन्त्रकी करोलिना मुचोभाको सामना गर्नेछिन्।

प्रकाशित: १५ आश्विन २०८३ ०९:२३ बिहीबार