नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको छ।
सुदूरपश्चिमले ११.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय १ रन जोडेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सहज जिततर्फ अघि बढेको सुदूरपश्चिमलाई अब ५१ बलमा ४५ रन मात्र आवश्यक छ। हाल टोलीको रनरेट ८.७८ रहेको छ भने जितका लागि आवश्यक रनरेट ५.२९ मात्र छ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट साझेदारी गरिरहेका छन्। कप्तान दीपेन्द्र २५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाएर क्रिजमा छन्।
उनलाई साथ दिइरहेका इशान १४ बलमा १ चौका र १ छक्का प्रहार गरी १५ रनमा अविजित छन्। पछिल्लो ५ ओभरमा कुनै विकेट नगुमाई सुदूरपश्चिमले ४५ रन बटुलेको छ।
यसअघि ओपनर सेफ जेब १६ बलमा १५ रन बनाएर किरण ठगुन्ना र विकेटकिपर अर्जुन घर्तीको तालमेलमा रनआउट भएका थिए।
अर्का ओपनर विनोद भण्डारी ४ रनमै धनञ्जय लक्षणको बलमा बोल्ड भए भने ब्रान्डन म्याकमुलनले १२ बलमा २२ रन जोड्दै शकिब अल हसनको बलमा एलबीडब्लु आउट भएका थिए। पोखराले अतिरिक्त स्वरूप १० रन दिएको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो।
प्रकाशित: ११ कार्तिक २०८३ २०:०७ बुधबार