खेल

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।

रोनाल्डो र जर्जिनाले पोर्चुगलमा नागरिक विवाह गरेका हुन्। विवाहपछि दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको औँठी देखाउँदै तस्बिर सार्वजनिक गरेका छन्।

४१ वर्षीय रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१६ देखि रहँदै आएका थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडमा भएको थियो। करिब एक दशक लामो सम्बन्धपछि उनीहरूले विवाह गरेका हुन्।

उनीहरूको विवाह पोर्चुगलको राजधानी लिस्बनबाट करिब ३२ किलोमिटर पश्चिममा रहेको समुद्री पर्यटकीय सहर कास्काइसमा भएको हो। विवाह समारोहमा उनीहरूका पाँच सन्तान पनि सहभागी भएका थिए।

रोनाल्डोले आफ्नो लामो फुटबल करियरमा स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनले आफ्नो करियरमा करिब एक हजार गोल पूरा गर्ने अवस्थामा पुगेका छन्।

रोनाल्डोले हालै आफ्नो करियरको छैटौँ विश्वकपसमेत खेलेका थिए। पुरुष विश्वकपको अन्तिम चरणमा सर्वाधिक पटक सहभागी हुने खेलाडीको कीर्तिमानमा उनी अर्जेन्टिनाका लियोनल मेस्सीसँगै छन्।

रोनाल्डोले आफ्नो क्लब अल नासरले सन् २०२६–२७ को साउदी प्रो लिग अभियान सुरु गर्नुभन्दा चार दिनअघि विवाह गरेका हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाको विवाहले विश्वभरका उनका समर्थकमाझ खुसी छाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ ०७:०० बुधबार