खेल

एसियन गेम्स छनोट प्रतियोगिताका लागि ऐरीको कप्तानीमा राष्ट्रिय टोली घोषणा

जापानमा आयोजना हुने आगामी २०औं एसियन गेम्सको छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा जापानको आइची-नागोयामा आयोजना हुने एसियन गेम्सको छनोटका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

जापानमा आगामी सेप्टेम्बर १९ तारिखदेखि २०औं एसियन गेम्स आयोजना हुँदैछ। सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म आठ राष्ट्रले उक्त एसियन गेम्स छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

यहाँबाट शीर्ष चार राष्ट्र एसियन गेम्समा छनोट हुनेछ। मुख्य प्रशिक्षक स्टुअर्ट लले छनोटका लागि आइतबार दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा गरेका हुन्। आइसिसी विश्वकप लिग–२ (एकदिवसीय) को तुलनामा टोलीमा उल्लेखनीय परिवर्तन गरिएको छ।

पछिल्लो एक महिना नेपालले दुई वटा त्रिकोणात्मक शृंखला खेलेका थियो। विश्वकप लिग–२ अन्तर्गत ओमान र संयुक्त अरब इमिरेट्स (युएई) तथा अमेरिका र स्कटल्यान्ड गरी दुई वटा शृंखला खेलेका धेरै खेलाडी टी ट्वान्टी फरम्याटमा समावेश छैनन्।

सिंगापुर जाने टोलीमा पाँच महत्वपूर्ण परिवर्तन गरिएको छ। कुशल मल्ल, सन्दीप जोरा, साहाब आलाम, लोकेश बम र शेर मल्लले छनोटका लागि टोलीमा स्थान बनाएका छन्।

गत शृंखलामा यी खेलाडीहरू टोलीमा थिएनन्। एकदिवसीय शृंखलामा रहेका ललितनारायण राजवंशी, ईशान पाण्डे, भीम सार्की, विनोद भण्डारी, अर्जुन कुमाल र गुलसन झा एसियन गेम्सको छनोटका लागि नेपाली टोलीमा परेनन्। आक्रामक ब्याटिङ क्षमता गर्ने सन्दीप र लोकेशलाई टोलीमा समावेश गरिएको छ।

भारतमा भएको आइसिसी टी ट्वान्टी विश्वकपमा लोकेश इङ्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए। शाहब र शेर टोलीमा राख्दै स्पिन आक्रमणलाई मजबुत बनाइएको छ। छनोटमा नेपाल समूह ‘ए’ मा छ।

नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्ने तालिका छ। त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन्। प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२६ को एसियाली खेलकुदमा स्थान सुरक्षित गर्नेछन्।

एसियन गेम्समा आयोजक जापानसहित पाँच टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले यसअघि नै प्रत्यक्ष स्थान सुरक्षित गरिसकेका छन्।

त्यसैले छनोट प्रतियोगितामा बाँकी टोलीहरू सीमित स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपाल पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटमा उत्कृष्ट गर्दै तीन वटा विश्वकप खेलिसकेको छ।

त्यसैले पनि नेपाली टोली छनोट हुने आशा गरिएको छ। लको आगमनपछि टोलीमा आक्रामक क्रिकेट, फिटनेस र परिस्थितिअनुसार टोली निर्माणमा विशेष जोड दिइएको देखिन्छ।

प्रकाशित: १० जेष्ठ २०८३ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App