खेल

विश्वमा जहाँ पनि पुग्छन् क्रिकेट समर्थक

नेपाली क्रिकेट टोलीको खेल पृथ्वीको जुनसुकै कुनामा किन नहोस्, नेपाली समर्थक उपस्थित नहुने ठाउँ सायदै भेटिन्छ। जापानको नागोयामा शुक्रबार पनि त्यही दृश्य दोहोरियो। यो खेल २०औं एसियाली खेलकुदमा नेपालले टेस्ट राष्ट्र अफगानिस्तानसँग खेल्दाको हो। जहाँ नेपालले १२ वर्षपछि अफगानिस्तानमाथि फेरि जित रच्यो।

मैदानमा खेलाडी अफगानिस्तानविरुद्ध जितका लागि संघर्ष गर्दै थिए। मैदानबाहिर नेपाली समर्थकको हुटिङ र झन्डाले वातावरण नेपालमय बन्यो। अन्ततः उत्कृष्ट स्पिन बलिङमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै एसियाली खेलकुदको सुरुआत गर्‍यो। ऐतिहासिक जितपछि नेपाली खेलाडी मैदानमै समर्थकतर्फ फर्किएर धन्यवाद दिँदै थिए। त्यो दृश्यले खेलाडी र समर्थकबिचको सम्बन्धलाई फेरि एकपटक प्रमाणित गरेको छ। ‘नेपालको खेल अर्कै ग्रहमा राखे पनि नेपाली समर्थकहरू त्यहाँ पनि पुग्छन्,’ नेपाली खेलाडीले जितपछि आफ्ना समर्थकलाई अभिवादन गरेको भिडियो राख्दै एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सामाजिक सञ्जालमा लेखेको छ, ‘खेलाडी मैदानमा लड्छन्, समर्थकहरू हरेक कदममा साथ दिन्छन्। यही हो नेपालको शक्ति।’ एसिसीको उक्त टिप्पणीले नेपाली क्रिकेटको एउटा फरक पहिचानलाई उजागर गरेको छ।

नेपाल जहाँ क्रिकेट खेल्छ, त्यहाँ नेपाली समर्थक पनि पुग्छन्। विदेशमा हुने प्रतियोगितामा नेपाली झन्डा, जर्सी र हुटिङसहित उपस्थित हुने समर्थक नेपाली टोलीका लागि मैदानबाहिरका अर्को शक्ति हुन्। सामाजिक सञ्जालमा पनि नेपाली क्रिकेटप्रतिको चासो र सहभागिता उल्लेख्य छ। यही डिजिटल पहुँच र समर्थकको सक्रियतालाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीबाट पाएको डिजिटल फ्यान इन्गेजमेन्ट सम्मानले पनि देखाउँछ।

२०औं एसियाली खेलकुदमा अफगानिस्तानमाथि जितपछि नेपाली टोलीले मैदानभित्र बलियो प्रदर्शनसँगै मैदानबाहिर पनि समर्थकको साथ पायो। त्यसको प्रतिफल नेपालले १२ वर्षपछि अफगानिस्तानमाथि टी ट्वान्टी आईमा पुनः जित निकाल्दै एसियाली खेलकुदमा  सुखद सुरुआत गर्‍यो।

कोरोगी एथलेटिक पार्कमा अफगानिस्तानले १०३ रनको सामान्य लक्ष्य दिएको थियो। खराब सुरुआत पाएको नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टयो। ओपनरद्वय कुशल भुर्तेल शून्यमा र आसिफ शेख २ रनमा आउट भए। सुरुमै दुई विकेट गुमेपछि नेपाल दबाबमा पर्‍यो। पूर्वकप्तान रोहित पौडेल र कप्तान दीपेन्द्रसिंह ऐरीले इनिङ सम्हाले। रोहितले ३२ बलमा अविजित ३३ रन बनाए। सन्दीप जोराले ३५ बलमा ३४ रनको योगदान दिए। दीपेन्द्रले १८ बलमा १५ रन बनाए। जितका लागि एक रन मात्र आवश्यक हुँदा दीपेन्द्र आउट भए। त्यसअघि उनले रोहितसँग पाँचौं विकेटका लागि ४६ रनको महत्त्वपूर्ण साझेदारी गरे। जुन नेपालको जितको आधारमध्ये एक रह्यो।

अफ्ठ्यारो पिचमा रोहितले संयमित ब्याटिङ देखाए। बलिङमा भने अफगानिस्तानलाई सुरुदेखि नै दबाबमा राख्यो। स्पिनर ललित र कुशलको जोडीले अफगानिस्तानको ब्याटिङ धराशयी बनायो। ललितले आफ्नो पहिलो स्पेलमै अफगानिस्तानका तीन शीर्ष ब्याटरलाई पभेलियन फर्काए। चार ओभरमा १३ रन मात्र खर्चिएका उनले तीन विकेट लिए। त्यसपछि कुशलले चार ओभरमा २१ रन खर्चेर चार विकेट दिलाए। यससँगै अफगानिस्तान ठूलो योगफल बनाउन सकेन। अफगानिस्तानका फैजल र नाजिबुल्लाले समान ३० रन बनाए। पुछारमा नान्गेयालिया खानले १५ बलमा अविजित १७ रन जोडे। यीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलर ललितका यो प्रदर्शन विशेष रह्यो। उनले टी ट्वान्टी अन्तर्राष्ट्रिय करियरमा एउटै इनिङमा तीन विकेट लिएको यो तेस्रो अवसर हो। अफगानिस्तानविरुद्ध उनले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए। टी ट्वान्टी अन्तर्राष्ट्रिय करियरकै उनको यो संयुक्त रूपमा दोस्रो उत्कृष्ट स्पेल बन्यो।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि जितपछि बलरहरूको खुलेर प्रशंसा गरे। ललित र कुशलले उत्कृष्ट बलिङ गर्दा सानो योगफलमा रोक्न सफल भएको र लक्ष्य पछ्याउन सहज बनाएको दीपेन्द्रले बताए। पदक जित्ने लक्ष्यमा रहेको नेपाललाई यो जितले ठूलो हौसला दिएको उनको भनाइ छ। साथै उनले नेपाली समर्थकको पनि खुलेर प्रंशसा गरे।

सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसको १२ वर्षपछि पुनः टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले पाँच विकेटको जित निकाल्यो। एसियाली खेलकुदमा नेपाल समूह ‘ए’ मा छ। पहिलो खेलमा आयोजक जापानलाई हराएको अफगानिस्तान पराजित भए पनि समूहको शीर्ष स्थानमा छ। नेपालले अब शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ। जापानलाई हराए नेपाल समूहविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्नेछ। समूहविजेता बने नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नेछ भने उपविजेता भए भारतसँग भेट हुनेछ।

एसियाका शीर्ष चार टोली भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भने वरीयताका आधारमा सीधै क्वार्टरफाइनलमा पुगेका छन्। अफगानिस्तानमाथि जित र समर्थकको साथले एसियाली खेलकुदमा नेपालले सुखद नतिजा दिने आशा छ। संयमित ब्याटिङ र मैदानमा हजारौं नेपाली समर्थकको उपस्थितिले नेपालको एसियाली खेलकुदको यात्रा उत्साहजनक बनेको छ।  

प्रकाशित: १० आश्विन २०८३ ०६:३६ शनिबार