खेल

सुदूरपश्चिमको कसिलो बलिङसामु रोकियो चितवन, जितका लागि १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन मात्र बनाउन सक्यो।

जितका लागि अब सुदूरपश्चिमले १ सय ३० रनको सामान्य लक्ष्य पाएको छ।

चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। संयमित इनिङ्स खेलेका बोपारा व्यक्तिगत १ रनले अर्धशतक बनाउनबाट चुके। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

चितवनका अन्य ब्याटरहरू सुदूरपश्चिमको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन्। विवेक यादवले १५ बलमा १७ रन जोडे भने डेविड मलानले १६, अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५-१५ रन बनाए। त्यसअघि ओपनर देव खनाल ७ रनमै पभेलियन फर्किएका थिए भने टम टेलर ६ रनमा अविजित रहे।

सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गर्दै विपक्षीलाई लगातार दबाबमा राखे। स्कट कुगेलेइनले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक २ विकेट लिए।

त्यस्तै, किफायती बलिङ गरेका अनिल खरेलले ४ ओभरमा १८ रन दिएर १ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले पनि १-१ विकेट हात पारे।

प्रकाशित: १६ कार्तिक २०८३ १८:५८ सोमबार