नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भइरहेको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्ससामु जितका लागि १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।
चितवनको सुरुवात निकै खराब रह्यो। इनिङ्सको दोस्रो बलमै स्टार ब्याटर डेभिड मलानलाई रुबेन ट्रम्पेलम्यानले बोल्ड गरेपछि चितवन दबाबमा परेको थियो।
ओपनर दीपक बोहरा १० रन र देव खनाल १४ रन बनाएर आउट भएपछि चितवनले ४३ रनमा ३ विकेट गुमाइसकेको थियो।
तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका अनुभवी विदेशी खेलाडी रवि बोपाराले इनिङ्स सम्हाले।
उनले एक छेउबाट विकेट जोगाउँदै ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले। उनलाई कप्तान कुशल मल्लले १८ बलमा २१ रन बनाएर साथ दिए।
अन्तिम ओभरहरूमा सैफ जैबले आक्रामक ब्याटिङको प्रयास गर्दै ७ बलमा १५ रन जोडे भने अर्जुन साउद ८ रनमा अविजित रहे। सोहेल तन्भिर ५ रन बनाएर अन्तिम बलमा आउट भए।
लुम्बिनी लायन्सका बलरहरूले चितवनलाई खुलेर खेल्ने मौका दिएनन्। लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक सफल बलर बन्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।
यस्तै, अभिषेक गौतमले कसिलो बलिङ गर्दै ३ ओभरमा मात्र १५ रन दिएर २ विकेट हात पारे।
गुलबदिन नाइबले पनि ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिन सफल भए। स्पिनर शेर मल्लले ४ ओभरमा २१ रन दिए पनि विकेट लिन सकेनन्।
अब १४३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: ४ मंसिर २०८२ १७:४४ बिहीबार