विदेशी खेलाडी दवीद मलानको सानदार ब्याटिङ र ओपनर अर्जुन साउदको अर्धशतकको मद्दतले चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्ससामु जितका लागि १७७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
चितवनलाई विशाल योगफलतर्फ लैजान ओपनरद्वय दवीद मलान र अर्जुन साउदले विष्फोटक सुरुवात गरे। उनीहरूले पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनको महत्त्वपूर्ण साझेदारी गरे।
इनिङकै सर्वाधिक रनकर्ता बनेका मलानले ५४ बलको सामना गर्दै ४ चौका र ५ छक्कासहित ८० रन को उत्कृष्ट इनिङ खेले। उनी १८.२ ओभरमा माज सदाकतको बलमा एलबीडब्लु आउट भए।
मलानलाई दरिलो साथ दिएका साउदले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए।
मध्यक्रमका ब्याटर सैफ जैब ७ रन र रवि बोपारा ३ रनमा आउट भएपछि इनिङ केही सुस्त देखिएको थियो। तर, अन्त्यमा कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै टिमको स्कोर उकासे।
मल्लले १४ बलमा २ चौका र २ छक्कासहित अविजित ३० रन बनाए। अमर रौटेला १ रनमा अविजित रहे।
सुरुवातमा विकेट लिन संघर्ष गरेको जनकपुर बोल्ट्सका बलरहरूले मध्यक्रममा केही कमब्याक गर्ने प्रयास गरेका थिए।
जनकपुरका लागि जान निकोल लोफ्टी–इटनले किफायती बलिङ गर्दै २ ओभरमा १७ रन दिएर १ विकेट लिए। माज सदाकतले ४ ओभरमा २३ रन खर्चेर १ विकेट हात पारे।
अनिल साह र रुपेश सिंहले पनि १–१ विकेट लिए।
लिगको २०औं खेलमा अब १७७ रनको विजय लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: १६ मंसिर २०८२ १३:१६ मंगलबार