खेल

सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवन राइनोजले संघर्षपूर्ण सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले ११ ओभर समाप्त हुँदा ३ विकेट गुमाएर ६८ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका लागि अनुभवी ब्याटर रवि बोपारा र कप्तान सिकन्दर राजा क्रिजमा टिकेर इनिङ्स उकास्ने प्रयास गरिरहेका छन्। बोपारा २३ बलमा ३ चौकाको मद्दतमा २५ रन तथा कप्तान राजा ३ बलमा २ रन बनाएर खेलिरहेका छन्।

यसअघि चितवनले दोस्रो ओभरमै ओपनर देव खनाललाई ७ रनको स्कोरमा गुमाएको थियो। उनलाई हेमन्त धामीले एलबीडब्लूको सिकार बनाए। लगत्तै अर्जुन साउद १५ रन जोड्दै स्कट कुगेलेइनको बलमा बोल्ड भए।

तेस्रो विकेटका रूपमा क्रिजमा जमिरहेका स्टार ब्याटर डेविड मलान आउट भए। मलान १७ बलमा १६ रन बनाएर सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा विकेटकिपर विनोद भण्डारीद्वारा क्याच आउट भए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले २ ओभरमा किफायती बलिङ गर्दै मात्र ७ रन खर्चेर १ विकेट लिएका छन् भने हेमन्त धामी र स्कट कुगेलेइनले १-१ विकेट हात पारेका छन्। खेलमा चितवन रनरेट बढाउने दबाबमा देखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १८:११ सोमबार