खेल

कामिलको शतकपछि चितवनको कसिलो बलिङ, काठमाडौं दबाबमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा चितवन राइनोजले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज १०.१ ओभरको समाप्तिमा संकटमा परेको छ। काठमाडौंले १०.१ ओभरमा ३ विकेट गुमाएर ६७ रन मात्र जोडेको छ।

जितका लागि काठमाडौंलाई अब प्रतिओभर १४.०३ रन आवश्यक छ। क्रिजमा राशिद खान १२ र सहन अराच्चिगे ४ रन बनाएर अविजित छन्। कप्तान करण केसी, भीम सार्की र जहानदाद खानलगायतका ब्याटर आउन बाँकी छन्।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात कमजोर रह्यो। रिजन ढकालले २ ओभरमा मात्र ६ रन खर्चेर ओपनरद्वय साहिल पटेल (२) र साम हिजलेट (३) लाई पभेलियन फर्काउँदै चितवनलाई बलियो पकड दिलाए।

सर्वाधिक ३७ रन बनाएका विलियम बोसिस्टोलाई ९.४ ओभरमा उसामा मिरले आउट गरे। चितवनका कमल ऐरीले २ ओभरमा मात्र ४ रन दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कामिल मिशाराको विस्फोटक अविजित शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।

२२ रनमै २ विकेट गुमाए पनि मिशारा र कप्तान रवि बोपाराले तेस्रो विकेटका लागि १५४ रनको सानदार साझेदारी गरे।

मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै १२० रन बनाए भने बोपाराले ४२ बलमा ५३ रन जोडे।

विवेक यादवले ३ बलमा ८ रन थपे। काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा ३२ रन र राशिद खानले ३८ रन खर्चेर समान २-२ विकेट लिएका थिए।

प्रकाशित: २ मंसिर २०८३ १९:५४ बुधबार