यूईएफए च्याम्पियन्स लिग २०२६-२७ को लिग चरण आजदेखि सुरु हुँदैछ। पहिलो दिन ६ खेल हुँदैछन्, जसमा रियल मड्रिड र इन्टर मिलान तथा पोर्टो र म्यानचेस्टर सिटीबीचको भिडन्त मुख्य आकर्षणका रूपमा रहेको छ।
आजको पहिलो खेलमा एईके एथेन्सले लास्क लिन्जसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि क्लब ब्रुग र एस्टन भिल्लाबीच खेल हुनेछ। दुवै खेल नेपाली समयअनुसार १०ः३० मा हुनेछन्।
यस्तै, बोरुसिया डर्टमन्डले भिल्लारियलको सामना गर्दा पोर्टोले घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई आतिथ्यता दिनेछ। सिटी नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा च्याम्पियन्स लिग अभियान सुरु गर्दैछ।
लिले र रियल बेटिसबीच पनि आजै प्रतिस्पर्धा हुनेछ। लिले घरेलु मैदानको फाइदा उठाउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा रहँदा बेटिस पनि अंकसहित अभियान सुरु गर्ने योजनामा हुनेछ।
पहिलो दिनको सबैभन्दा चर्चित खेल भने रियल मड्रिड र इन्टर मिलानबीच हुनेछ। रियलको घरेलु मैदानमा हुने खेलमा दुवै टोली जितसहित लिग चरणको सुरुवात गर्ने लक्ष्यमा छन्। रियल मड्रिड १५ पटकको च्याम्पियन्स लिग विजेता भएकाले उसमाथि विशेष नजर रहनेछ। च्याम्पियन्स लिगको नयाँ सिजनमा ३६ टोली सहभागी छन्। लिग चरणमा आठ खेलपछि शीर्ष आठ टोली सोझै अन्तिम १६ मा पुग्नेछन् भने नवौँदेखि २४औँ स्थानसम्मका टोलीले नकआउट प्लेअफ खेल्नेछन्।
आजका ६ खेल
- एईके एथेन्स विरुद्ध लास्क लिन्ज
- क्लब ब्रुग विरुद्ध एस्टन भिल्ला
- बोरुसिया डर्टमन्ड विरुद्ध भिल्लारियल
- पोर्टो विरुद्ध म्यानचेस्टर सिटी
- लिले विरुद्ध रियल बेटिस
- रियल मड्रिड विरुद्ध इन्टर मिलान
प्रकाशित: २३ भाद्र २०८३ १३:१३ मंगलबार