खेल

च्याम्पियन्स लिग ड्र सार्वजनिक : आर्सनलदेखि सिटीसम्मलाई कठिन प्रतिद्वन्द्वी

२०२६/२७ सिजनको युरोपेली च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ। ड्रले पाँच प्रिमियर लिग क्लबलाई नै बलिया प्रतिद्वन्द्वी दिएको छ।

गत सिजनको उपविजेता आर्सनलले रियल म्याड्रिड र बायर्न म्युनिखजस्ता हेभिवेट टोलीसँग खेल्नेछ। आर्सनलले रियललाई घरेलु मैदानमा आतिथ्य गर्दा बायर्नको मैदानमा पुग्नेछ। उसले बोरुसिया डर्टमन्ड, रियल बेटिस, लिल, नापोली, साबाह र स्लाभिया प्रागसँग पनि खेल्नेछ।

एस्टन भिल्लाको सामना साविक विजेता पीएसजी र बार्सिलोनासँग हुनेछ। भिल्लाले पीएसजीलाई घरेलु मैदानमा स्वागत गर्दा बार्सिलोनाको मैदानमा खेल्नेछ। उसको अन्य प्रतिद्वन्द्वीमा डर्टमन्ड, क्लब ब्रुग, फेनरबाह्चे, गालातासारे, भाइकिन्ग र स्लाभिया प्राग छन्।

म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा बायर्न म्युनिखसँग खेल्दा एट्लेटिको म्याड्रिडको मैदानमा पुग्नेछ। रोमा, स्पोर्टिङ, आरबी लाइपजिग, भिल्लारियल, साबाह र कोमो पनि युनाइटेडका प्रतिद्वन्द्वी बनेका छन्।

म्यानचेस्टर सिटीले पीएसजी र बार्सिलोनासँग खेल्नेछ। सिटीले पीएसजीलाई घरेलु मैदानमा आतिथ्य गर्दा बार्सिलोनाको मैदानमा खेल्नेछ। स्पोर्टिङ, पोर्टो, नापोली, लाइपजिग, एईके एथेन्स र लेन्स पनि सिटीको लिग चरणका प्रतिद्वन्द्वी हुन्।

लिभरपुलले घरेलु मैदानमा एट्लेटिको म्याड्रिड र पोर्टोसँग खेल्दा इन्टर मिलान र क्लब ब्रुगको मैदानमा जानेछ। भिल्लारियल, फेनरबाह्चे, लेन्स र लास्क उसका अन्य प्रतिद्वन्द्वी हुन्।

लिग चरणमा ३६ टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन्। शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्नेछन् भने नवौँदेखि २४औँ स्थानसम्मका १६ टोलीले नकआउट प्लेअफ खेल्नेछन्। २५औँदेखि ३६औँ स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन्।

लिग चरणका खेलको मिति युईएफएले शनिबार सार्वजनिक गर्नेछ।

प्रकाशित: १२ भाद्र २०८३ ०६:४९ शुक्रबार