खेल

च्याम्पियन्स लिग : बायर्न र म्यानचेस्टर युनाइटेडको शानदार जित

च्याम्पियन्स लिगको २०२६/२७ सिजनको पहिलो चरणअन्तर्गत गएराति ६ खेल सम्पन्न भएका छन्।

गएरातिका खेलमा बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकाल्दा कोमोले आरबी लाइपजिगलाई स्तब्ध बनाएको छ। दुई खेल भने बराबरीमा सकिएका छन्।

बायर्नले घरेलु मैदानमा बोडो/ग्लिम्टलाई ५-० ले हरायो। बायर्नका लागि माइकल ओलिसेले दुई गोल गरे भने जमाल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले पनि गोल गरे। बायर्नले सुरुदेखि नै खेलमा दबाब कायम राख्दै सहज जित हात पारेको हो।

म्यानचेस्टर युनाइटेडले पनि आफ्नो च्याम्पियन्स लिग पुनरागमन सुखद बनाउँदै अजरबैजानको साबाहलाई ४-० ले पराजित गर्‍यो। ओल्ड ट्राफोर्डमा भएको खेलमा माटेउस कुन्हा, ब्रुनो फर्नान्डेस, बेन्जामिन सेस्को र लिसान्द्रो मार्टिनेजले गोल गरे। यो जितसँगै युनाइटेडले प्रतियोगितामा बलियो सुरुवात गरेको छ।

च्याम्पियन्स लिगको मुख्य चरणमा पहिलोपटक खेलेको कोमोले भने आरबी लाइपजिगमाथि ४-१ को शानदार जित निकाल्यो। घरेलु मैदानमा कोमोले आक्रामक प्रदर्शन गर्दै जर्मन क्लबलाई सुरुदेखि नै दबाबमा राखेको थियो।

अर्को खेलमा लेन्सले स्लाभिया प्रागलाई ३-२ ले हरायो। प्रतिस्पर्धात्मक बनेको खेलमा लेन्सले महत्वपूर्ण तीन अंक हात पार्दै पहिलो चरणमा विजयी सुरुवात गर्‍यो।

यसैगरी फेनेरबाह्चे र रोमाबीचको खेल १-१ को बराबरीमा सकियो। १८ वर्षपछि च्याम्पियन्स लिगको मुख्य चरणमा फर्किएको फेनेरबाह्चेले घरेलु मैदानमा रोमालाई रोक्न सफल भयो। रोमाका ब्रायन क्रिस्टान्टेले पहिलो हाफमा गोल गरे पनि फेनेरबाह्चेका आर्ची ब्राउनले दोस्रो हाफमा बराबरी गोल फर्काए।

पीएसभी र शाख्तर डोनेस्कबीचको खेल पनि १-१ मै टुंगियो। शाख्तरले पहिलो हाफमा अग्रता लिए पनि पीएसभीका सर्जिनो डेस्टले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

प्रकाशित: २६ भाद्र २०८३ ०६:४५ शुक्रबार