नेपालको भलिबल लिग च्याम्पियन हेल्प नेपाल स्पोटर्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ।
आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा काभा च्याम्पियन्स लिग हुँदै छ। यसमा नेपालसहित पाँच राष्ट्रका लिग च्याम्पियनसहित हेल्प नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
पाकिस्तानका दुई खेलाडीसँगै घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई अनुबन्धन गर्दै हेल्प नेपाल उपाधि यात्रामा होमिएको हो। यसै प्रतिस्पर्धामा सहभागी हुन नेपाली टोली आगामी सोमबार माल्दिभ्स प्रस्थान गर्नेछन्। नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम आयोजना गर्दै उक्त टोलीलाई बिदाइ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य जगत धामी र राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले टोलीको बिदाइ गरेका थिए।
सो अवसरमा सदस्यसचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे। क्लबले यहाँसम्म आइपुग्न ठूलो चुनौती पार गर्नु परेकोले अहिले यो सफलता पाएको उनको भनाइ थियो। भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपालले क्लबको मात्र नभई समग्र नेपाली र नेपालको प्रतिनिधित्व गर्ने बताए।
हेल्प नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुखद नतिजा निकाल्ने अपेक्षा उनको छ। हेल्प नेपालले पोखरामा सम्पन्न एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो।
माल्दिभ्समा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्लबको लक्ष्य छ। क्लबको तयारी भने पर्याप्त नभएकाले उपाधि जित्न चुनौतीपूर्ण रहनेछ। काभा च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान र किर्गिस्तानको लिग च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघले जनाएको छ।
उत्सव खड्काको प्रशिक्षणमा हेल्प नेपालले तयारी गरिरहेको छ। उनको प्रशिक्षण टोलीमा सुजन केसी र राजनकुमार उपाध्यायले सघाउनेछन्। टिम म्यानेजरमा झम्कनारायण श्रेष्ठ छन्। अधिकांश विभागीय टोलीका खेलाडी समेटर टोली निर्माण गरिएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबका रविन चन्द, रविन नगरकोटी, सफल विक र एपिएफबाट विनोदबहादुर चन्दलगायत खेलाडीलाई समेट्दै हेल्प नेपालले टोली बनाएको हो। साथै उक्त टोलीमा दुई पाकिस्तानी खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिदलाई अनुबन्ध गरिएको छ। त्यसैले टोली बलियो र सन्तुलित बनेको क्लबको विश्वास छ।
हेल्प नेपालको अन्य खेलाडीमा विष्णुबहादुर क्षेत्री, सफल विक, चिरञ्जिवी खड्का, विनोदबहादुर चन्द, यामबहादुर भण्डारी, सुवास कुँवर (कप्तान), मनीष मानन्धर, सन्तोष राई, रविन चन्द र रविन नगरकोटी छन्। नेपालका रेफ्री विकास गुरुङले उक्त च्याम्पियन्स लिगमा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
प्रकाशित: २९ असार २०८२ ०८:२४ आइतबार