खेल

काभा पुरुष नेसन्स कप : राउन्ड रोबिन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित बंगलादेश यात्रामा छ।  

काभा नेसन्स कप खेल्दै नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किँदै छ। नेपालले आगामी अक्टोवर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्दै छ। सोही नेसन्स कपका लागि आइतबार भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भरत यादवले १७/१८ दिनको तयारीबाट सन्तुलित टोली बनेको र त्यहीअनुरूप राम्रो प्रदर्शन पनि गर्ने आशा व्यक्त गरेका छन्। प्रशिक्षक यादवले कम समयमा पनि जुनियर र सिनियर खेलाडीबाट राम्रो टिम कम्बिनेसन भएको बताए। रिसिभ, ब्लक र सर्भिसमा विशेष ध्यान दिएको प्रशिक्षक यादवले उल्लेख गरेका छन्। यी पक्षमा धेरै सुधार पनि आएको उनको भनाइ छ।

टोलीले गत असोज २ गतेदेखि प्रशिक्षण गरिरहेको छ। नेपालले ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने काभा नेसन्स कपमा पदक जित्ने लक्ष्य राखेको छ। टोलीको तयारी छोटो छ। लामो समयदेखि खेलिरहेका अनुभवी खेलाडीहरू पलायन भइसकेका छन्। त्यसैले टोलीमा अधिकांश युवा खेलाडी छन्। यसमा पनि टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। भरत यादवको मुख्य प्रशिक्षणमा नेपाली टोलीले राउन्ड रोबिन लिगमा हुने प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने नेपालको लक्ष्य छ। प्रशिक्षक भरतले दसैंअगाडि देखि नै प्रशिक्षण गर्दै आएको र तयारी राम्रो भएको बताएका छन्। श्रीलंका, बंगलादेश र तुर्कमिनिस्तान सबैभन्दा उत्कृष्ट टोली रहेको उनको बुझाइ छ।  

तर, पनि पदक जित्ने लक्ष्यसहित यी देशविरुद्ध खेल्ने उनी बताउँछन्। लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाए पनि खेलाडीले नियमित घरेलु प्रतियोगिता खेल्न पाएको उनी बताउँछन्। व्यक्तिगत रूपमा पनि क्षमतावान् खेलाडी रहेकाले म्याच एक्सपोजरको कमी नदेखिने प्रशिक्षक यादवको विश्वास छ। लगातार पाँच खेल खेल्न सक्ने फिटनेस खेलाडीमा आएको प्रशिक्षकको दाबी छ। चाडपर्वको समय भए पनि खेलाडीहरू उत्साहित हुँदै देशको लागि केही गर्ने लक्ष्यमा रहेको प्रशिक्षक यादव बताउँछन्। टाइसिट सार्वजनिक भएलगत्तै नेपालले त्यहीअनुरूप तयारी गरिरहेको उनी बताउँछन्।

काभा यु–१९ मा राम्रो नतिजा ल्याएकाले पनि टोलीको मनोबल उच्च रहेको उनले बताए। उनले कप्तान हरिहजुर थापा अनुभवी खेलाडी रहेको उल्लेख गर्दै उनमा टिमलाई अगाडि बढाउने राम्रो क्षमता रहेको बताएका छन्। तीन सदस्यीय खेलाडी छनोट समितिले नै १८ जनाको प्रारम्भिक टोलीबाट १४ जनाको राष्ट्रिय टोली घोषणा गरेको थियो। प्रशिक्षक यावदले छनोट गरिएका खेलाडीबाट धेरै सन्तुष्ट रहेको र उनीहरूको क्षमता पनि राम्रो रहेको बताएका छन्। अधिकांश नयाँ खेलाडी भए पनि विभिन्न उमेरसमूहका उत्कृष्ट खेलाडी टोलीमा आबद्ध रहेकाले नेपाली टोली निकै उत्साहित रहेको प्रशिक्षक यादव बताउँछन्।

नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार मात्र सामाजिक सञ्जालमार्पmत लिफ्टर हरिहजुर थापा नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानमा पुनः जिम्मेवारी दिइसकेको छ। विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरले पुनः नेपाली राष्ट्रिय टोलीको कप्तानीमा जिम्मेवारी पाएका हुन्। दुई वर्षअघि उनले पहिलोपल्ट देशको कप्तानी गर्ने अवसर पाएका थिए। तर, अनुशासनहीन काम गरेपछि हरिहजुर एक महिनामै निलम्बनमा परे। त्यसपछि आर्मीकै मानबहादुर श्रेष्ठ नेपाली टोलीको कप्तानमा नियुक्त भए। तर, मानबहादुर अस्ट्रेलिया पलायन भएपछि नेपाली भलिबल टोली कप्तानविहीन थियो। संघले काभा नेसन्स कपअगाडि नै हरिहजुरलाई जिम्मेवारी दिएको हो।

उनै हरिहजुरले तयारी छोटो भए पनि अन्तिम चरण पुगेको उल्लेख गर्दै अझैँ प्रशिक्षण लामो अवधिको हुनुपर्ने बताए। यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कम्तीमा दुई महिनादेखि प्रशिक्षण गर्ने गरेको उनले उल्लेख गरेका छन्। कप्तान हरिहजुरले तयारी कम भएको र त्यसैले टिम सेट हुने तरिकाले मात्र प्रशिक्षण गरिरहेको उल्लेख गरे। तर, आफ्नो टोलीको लक्ष्य च्याम्पियन बन्ने रहेको उनी बताउँछन्। उनी प्रतिद्वन्द्वी पनि त्यति बलियो नरहेको बताउँछन्। तर, यसपल्ट अनुभवी खेलाडी नहुँदा केही असहज हुने उनको बुझाइ छ। युवा खेलाडीमा पनि आफू विश्वस्त रहेको उनी बताउँछन्। कप्तान हरिहजुरले टोलीमा अधिकांश युवा खेलाडी भए पनि उनीहरूले उमेरसमूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकाले नेसन्स कपमा राम्रो प्रदर्शन हुने आशा व्यक्त गरेका छन्।  

घरेलु प्रतियोगितामा राम्रो खेलेका खेलाडी टोली रहेको उनको बुझाइ छ। कप्तानीको जिम्मेवारी पाउँदा आफूलाई कुनै दबाब नपर्ने कप्तान हरिहजुरको विश्वास छ। यद्यपि, उनले तयारीका लागि समय थोरै भएको स्वीकार गरे। यो तयारीबाट पनि राम्रो नतिजा आउनेमा उनी आशावादी देखिन्छन्। नक्सालमा आइतबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाली टोलीको बिदाइ गरेका थिए। हरिहजुरको कप्तानीमा रहेको नेपाली टोलीमा धनबहादुर भट्ट, धीरजकाजी बस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज बस्नेत, सुजन सुनार र सन्तोष राई छन्।

नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कप खेल्दै छ। नेपालले उद्घाटन खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ। अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। त्यसको एक दिनपछि माल्दिभ्ससँग खेल्ने तालिका छ। राउन्ड रोबिन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ। त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्ने तालिका छ। लिगका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

प्रकाशित: ३ कार्तिक २०८२ ११:०६ सोमबार