खेल

कप्तान इन्दुद्वारा हजार रनको कोसेढुंगा पार

कप्तान इन्दु बर्माले अन्तर्राष्ट्रिय करियरमा एक हजार रनको कोसेढुंगा पार गरेको दिन नेपालले मलेसियासँगको चौथो टी ट्वान्टी क्रिकेटमा जित निकालेको छ।

क्वालालम्पुरमा भएको चौथो खेलमा नेपालले मंगलबार मलेसियामाथि ६ विकेटको जित निकाल्दा कप्तान इन्दुले अन्तर्राष्ट्रिय करियरमा एक हजार रनको कोसेढुंगा पार गरेकी हुन्। यो जितसँगै नेपालले पाँच खेलको टी ट्वान्टी शृंखला पनि २–२ ले बराबरी गर्‍यो। इन्दु नेपाली क्रिकेटमा यो आँकडा पूरा गर्ने पहिलो महिला क्रिकेटर पनि बनिन्।

बायोमस ओभलमा मलेसियाले एक सय १२ रनको लक्ष्य दिएको थियो। त्यो लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। यस क्रममा इन्दुले ४८ रनको अविजित इनिङ खेलिन्। उनी पाँचौं नम्बरमा ब्याटिङ गर्न आएकी थिइन्। उनले ३९ बलमा ६ चौका हिर्काइन्। इन्दुले ७० इनिङमा एक हजार ३३ रन पूरा गरिन्।

यसमा उनको एक अर्धशतक मात्र छ। करियरको एक मात्र अर्धशतक इन्दुले सन् २०२१ मा कतारविरुद्ध प्रहार गरेकी हुन्। कतारसँगको शृंखलामा त्यति बेला नेपालले घरेलु टोलीलाई २७ रनमा नै अलआउट गरेको थियो। सन् २०१९ मा चीनविरुद्धको खेलबाट डेब्यु गरेकी इन्दु कतारसँगको उक्त खेलमा ५५ रनमा अविजित थिइन्। आफ्नो अन्तर्राष्ट्रिय करियरमा ६ वर्ष पूरा गरेपछि उनले मंगलबार एक हजार रनको आँकडा भेट्टाएकी हुन्।

मंगलबार मलेसियामाथि जित निकाल्दा इन्दुले बलिङ भने गरिनन्। खराब लयबाट गुज्रिरहेको नेपालको ब्याटिङमा भने उनले योगदान दिइन्। यसपल्ट पनि नेपालले खराब सुरुआत गरेको थियो। पहिलो ओभरमै ओपनर रुबी पोदारलाई ५ रनमै गुमाउन पुग्यो। अर्की ओपनर सम्झना खड्का पनि ११ रनमा नै पभेलियन फर्किइन्।

त्यसपछि आएकी कविता कुँवर १६ रन बनाएर आउट भइन्। उपकप्तान पूजा महतो पनि ७ रनमै रनआउट हुन पुगिन्। तर, पूर्वकप्तान रुबिना क्षेत्रीले कप्तान इन्दुलाई साथ दिइन्। यो जोडीले पाँचौं विकेटका लागि ६१ रनको अविजित साझेदारी गर्दै जित दिलायो। साथै नेपाल टोलीलाई शृंखलामा पनि फर्कायो। अनुभवी ब्याटर रुबिना २३ रनमा अविजित रहिन्। उनले २३ बलमा दुई चौका र एक छक्का हिर्काइन्।

मलेसियाको बलिङमा आइना हमिजा हसिम, नुर डानिया, माहिरा इजाती इस्माइलले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा एक सय ११ रनको योगफल बनाएको थियो।

नेपालका बलर पूजा महतो र कविता कुँवरले ओपनरद्वय आइना र वान जुलियालाई शून्यमा पभेलियन फर्काउँदै घरेलु टोलीलाई सुरुआतमै झड्का दिए। यस शृंखलाकी सर्वाधिक (१३७ रन) रनकर्ता आइना कविताद्वारा कट एन्ड बोल्ड भइन्। पूजाले दोस्रो ओभरमा जुलियालाई पनि आउट गर्दै नेपाललाई राम्रो सुरुआत दिलाइन्। त्यसपछि कप्तान विनिफ्रेड दुरैसिंगम पनि २ रनमा आउट भइन्। ४.३ ओभरमा घरेलु टोली २०/३ को नाजुक अवस्थामा पुग्यो। तर, मास एलिसा र त्यसपछिका ब्याटरले साथ दिँदा मलेसियाले सय रनको आँकडा पार गर्‍यो। ६३ बल खेलेकी एलिसा ५६ रनमा नटआउट रहिन् । उनको इनिङमा पाँच चौका थियो।

माहिरा इस्माइलले १८ र नुर डानियाले १५ रन बनाए। नेपालले अतिरिक्त १७ रन दिएपछि मलेसियालाई थप मद्दत मिलेको थियो। नेपालको बलिङमा कविता कुँवरले तीन तथा पूजा र कविता जोशीले समान एक विकेट लिए। नेपाली टोलीले सात बलर प्रयोग गरेको थियो। कविता कुँवरले चार ओभरमा १० रन मात्र खर्चिंदै किफायती बलिङ गरिन्। अलराउन्ड प्रदर्शन गरेकी कविता प्लेअर अफ दी म्याच पनि भइन्। यसअघि मलेसियाले तीन र १३ रन तथा नेपालले ६ विकेटको जित निकालेका थिए। शृंखलाको पाँचौं तथा निर्णायक खेल बुधबार हुनेछ।  

प्रकाशित: २२ आश्विन २०८२ ०६:१७ बुधबार