खेल

क्यानले भन्यो- एनपीएलको अनधिकृत प्रदर्शन नगर्नू, अटेर गरे कारबाही गर्छाैं

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको अनधिकृत सार्वजनिक प्रदर्शन नगर्न चेतावनी दिएको छ। क्यानले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक प्रसारण माध्यमबाहेक अन्य स्रोतबाट खेल देखाए कानुनी कारबाही गर्ने बताएको हो।

क्यानका अनुसार नेपालभित्र नेपाल प्रिमियर लिगको विशेष प्रसारण अधिकार टेलिभिजनतर्फ हिमालय स्पोर्ट्स र ओटीटी स्ट्रिमिङतर्फ नेटटीभीसँग मात्र रहेको छ।

कुनै पनि सार्वजनिक प्रदर्शन, फ्यान पार्क वा प्रवर्द्धनात्मक कार्यक्रमहरूमा अनिवार्य रूपमा हिमालय स्पोर्ट्स वा नेटटीभीको आधिकारिक फिड मात्र प्रयोग गर्नुपर्ने क्यानले जनाएको छ। कुनै पनि अनधिकृत फिडको प्रयोग वा पुनर्प्रसारणलाई पूर्ण रूपमा रोक लगाइएको छ।

अनधिकृत प्रदर्शनले नेपालको प्रचलित कानुन र प्रसारण अधिकार सम्झौताको उल्लंघन हुने भन्दै क्यान तथा आधिकारिक अधिकार प्राप्त संस्थाहरूले दोषीविरुद्ध कानुनी प्रक्रिया चाल्ने चेतावनी दिएका छन्।

क्यानले सबै फ्रेन्चाइज टोली, भेन्यू, इभेन्ट आयोजक, प्रायोजक तथा साझेदारहरूलाई प्रतियोगिता अवधिभर यस नियमको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १८:०४ सोमबार