मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम बुढीगंगा गोल्ड कप आयोजना गर्ने भएको छ। मंगलबार बुढीगंगा गाउँपालिकाले पत्रकार सम्मेलन गरी चैत २१ गतेदेखि प्रथम बुढीगंगा गोल्ड कप आयोजना गर्न लागेको जानकारी दिएको हो।
पञ्चायतदेखि गणतन्त्रसम्मका गाउँपालिकाका जनप्रतिनिधिहरूको योगदानलाई सम्मान गर्न गोल्डकपको आयोजना गरिएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिए। ‘विभिन्न चार वटा गाउँविकास समिति मिलेर बुढीगंगा गाउँपालिका बनेको र उक्त पालिकाको विकासमा पूर्व देखि वर्तमान व्यवस्थाका जनप्रतिनिधिहरूको भूमिकालाई कदर गर्दै गोलकपको आयोजना गर्न लागिएको हो,’ अध्यक्ष मगरले भने। नकआउट प्रणालीमा सञ्चालन हुने गोल्डकपमा आयोजक बुढीगंगा फुटबल क्लब सहित नेपाल र भारतका गरी ८ वटा टिम सहभागी हुने गोल्डकप आयोजक समितिका संयोजक रेवतीनारायण चौधरीले जानकारी दिए।
प्रतियोगितामा विजेता टोलीलाई नगद ५ लाख रुपैयाँ, उपविजेतालाई २ लाख ५० हजार नगरदसहित ट्रफि मेडल प्रदान गरिने छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्किपर, गोलकर्तालगायतलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ। बुढिगंगा गाउँपालिकाले आफैँ प्रशिक्षण दिएर खेलाडी उत्पादन गरिरहेको छ। गाउँपालिकाको लगानीमा प्रशिक्षण पाइरहेका खेलाडीलाई अन्य टिमहरूसँग खेल अभ्यास गराउने, क्षमता अभिवृद्धि गर्ने, अनुभव आदानप्रदान गर्न प्रतियोगिता सहयोगी बन्ने गाउँपालिकाले विश्वास लिएको छ।
यस्तै पालिकाका पूर्व जनप्रतिनिधिहरूलाई समेत प्रतियोगितामा सम्मान गर्ने कार्यक्रम राखिएको जनाइएको छ। प्रतियोगिता आयोजना गर्न ३९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। जसमध्ये १२ लाख रुपैयाँ पालिकाले बजेट विनियोजन गरेको र बाँकी रकम विभिन्न संघसंस्था, औद्योगिक प्रतिष्ठानबाट प्राप्त हुने जनाइएको छ।
प्रकाशित: १७ चैत्र २०८२ १९:२३ मंगलबार