विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। विराटनगर भन्सार कार्यालयले असोज महिनामा १००.२६ प्रतिशत राजस्व सङ्कलन गरेको हो।
विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।
गत आर्थिक वर्षको असोज महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ मात्रै सङ्कलन भएको थियो। गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा ३८.१५ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको समग्र राजस्व असुली निर्धारित लक्ष्यको ९५.८६ प्रतिशत पुगेको छ। यस अवधिमा १० अर्ब १५ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको तीन महिनाका लागि राजस्व सङ्कलनको लक्ष्य १० अर्ब ५९ करोड ५३ लाख रुपैयाँ रहेको थियो।
तीन महिनाको अवधिमा विराटनगर नाकाबाट ९८ अर्ब २६ करोड २६ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २९ अर्ब ३५ करोड ७४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा ५८ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने २१ अर्ब ६६ करोड २२ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा विराटनगर भन्सारबाट हुने आयात ६७ प्रतिशतले बढेको छ भने निर्यात ३६ प्रतिशतले बढेको छ।
प्रकाशित: १२ कार्तिक २०८३ १८:१९ बिहीबार