नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार जारी खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्स मात्र ८३ रनमा समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै अलआउट भयो। जितका लागि काठमाडौंले ८४ रनको सहज लक्ष्य पाएको छ।
विराटनगरको सुरुवात निकै खराब रह्यो। शीर्ष तथा मध्यक्रम धराशायी बन्दा टोलीले ३५ रन जोड्दानै ७ विकेट गुमाइसकेको थियो।
त्यसपछि आठौं विकेटका लागि रूपेश सिंह र एन्जेलो म्याथ्युजले ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स केही सम्हाले। रूपेशले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक २६ रन बनाए भने म्याथ्युजले ३१ बलमा २२ रनको योगदान दिए।
विराटनगरका अन्य ब्याटर चल्न सकेनन्। टी-२० करिअरमा १० हजार रन पूरा गरेका आन्द्रे रसेल ३ रनमै पभेलियन फर्किए।
बसिर अहमदले १०, लोकेश बमले ६ र सेहान जयसूर्याले ५ रन बनाए। इमरान शेख, नारायण जोशी र शुभम रन्जाने शून्य रनमै आउट भए भने कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे।
काठमाडौंका लागि सन्तोष यादवले कसिलो बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। त्यस्तै कप्तान करण केसीले १७ रन दिएर २ विकेट तथा सहाँन अराचिगेले ७ रन खर्चेर २ विकेट हात पारे।
शाहब आलम, जहानदाद खान र देव शाहले १-१ विकेट बाँडे। काठमाडौंका जहानदादले उत्कृष्ट फिल्डिङ गर्दै एक्लै ४ क्याच लिएका थिए।
प्रकाशित: १९ कार्तिक २०८३ १८:३९ बिहीबार