कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त रहेको सदस्यसचिव पदमा सुनसरीका विप्लव घोष नियुक्त भएका छन् । ७ महिनादेखि रिक्त रहेको बोर्डको उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरुलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्षसमेत रहेका रामप्रसाद महतोले ४ वर्षका लागि नियुक्त गरेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका–३ का स्थायी घर भएका घोष नेकपा एमाले निकट रहेको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् । उनी कराँते खेलका खेलाडी भए पनि पछिल्लो समय क्रिकेट टिमको व्यवस्थापनमा लाग्दै आएका छन् ।
त्यस्तै, बोर्डको उपाध्यक्षद्वय नेपाली कांग्रेसको तर्फबाट वसन्तराज अर्याल र नेकपा एमालेको तर्फबाट सन्तोषी श्रेष्ठ नियुक्त भएका छन् । दुवै जना विराटनगर निवासी हुन् । कांग्रेसको तर्फबाट सदस्यहरूमा इलामका टीकाराम पुरी, उदयपुरका दुर्गाप्रसाद कठेत, ओखलढुंगाका विश्वराज राई, झापाका बालजित राई र सुनसरीकी सुशीला राई छन् भने एमालेबाट मोरङकी बिना बस्नेत, सुनसरीका इश्वरविक्रम शाह र तेह्रथुमका केशव भट्टराई रहेका छन् । उनीहरूलाई बुधबार मध्यराति मन्त्री महतोले शपथग्रहण गराएका हुन् ।
प्रदेश खेलकुद विकास बोर्डमा सदस्यसचिव पद रिक्त भएको करिब सात महिना बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुंग्याउन सकेको थिएन । बोर्डका संस्थापक सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले कार्यकाल पूरा गरेर बाहिरिएपछि नयाँ नेतृत्व चयनमा एमाले र कांग्रेसबीच भागबन्डाको विवाद देखिएको थियो ।
नेकपा (एकीकृत समाजवादी)बाट मुुख्यमन्त्री बनेका राजेन्द्र राईको सरकारले बस्नेतलाई हटाएर नेकपा (एकीकृत समाजवादी)का हंशराज वाग्लेलाई सदस्यसचिव नियुक्त गरेको थियो । पछि अदालतको आदेशबाट बस्नेतकै पुनर्बहाली भयो । तर, बस्नेतको कार्यकाल सकिए पनि दुवै दलले आफ्नो प्रभाव कायम राख्न खोज्दा खेलकुद क्षेत्र लामो समयदेखि नेतृत्वविहीन बनेको थियो ।
खेलकर्मीहरूका अनुसार प्रदेश खेलकुद बोर्ड लामो समयदेखि राजनीतिक भागबन्डाको केन्द्र बन्दै आएको छ । खेल प्रशासनमा दक्षता, योजना र खेल पूर्वाधारभन्दा पनि दलगत निष्ठालाई प्राथमिकता दिइँदा खेल क्षेत्र कमजोर बनेको उनीहरूको गुनासो छ ।
सरकारले यसपटक पनि नियुक्तिलाई सहज बनाउनका लागि प्रदेश खेलकुद ऐन नै अध्यादेशमार्फत संशोधन गरेपछि बोर्ड समितिमा पदाधिकारी नियुक्त सहज बन्यो । संशोधित व्यवस्थाअनुसार अब बोर्डमा दुई उपाध्यक्षसहित २६ सदस्य रहने छन् । जसमा एक उपाध्यक्ष कांग्रेस र अर्काे एमालेको भागमा पर्ने गरी समझदारी बनेको बताइएको छ । सदस्यतर्फ पनि दुवै दलले समान राख्ने र बाँकी सदस्यपछि मनोनित गरिने छ ।
कांग्रेसभित्रबाट सदस्यसचिवका आकांक्षी किशोर राई, वसन्तराज अर्याल, रञ्जन थापा र अभिषेक श्रेष्ठ थिए भने एमालेबाट मुकेश बुढाथोकी, रविन थापालगायतको नाम चर्चामा थियो ।
खेलकुद क्षेत्रका सरोकारवालाहरु भने राजनीतिक भागबन्डाका आधारमा संरचना विस्तार गर्दै पद बाँड्ने प्रवृत्तिले प्रदेश खेलकुद झन् कमजोर बनिरहेको बताउँछन् । उनीहरूका अनुसार बोर्डलाई खेल विकासको संस्थाभन्दा पनि दलगत भर्ती केन्द्र बनाउने प्रवृत्ति बढ्दो छ । खेल खेलेका खेलाडीले नियुक्ती पाउने भने समग्र खेलकुद क्षेत्रमा केही सुधार हुने उनीहरुले अपेक्षा गरेको बताए । तर, खेलसँग आवद्धभन्दा पनि पार्टी र नेतासँग नजिक भएकालाई नियुक्त गर्दा खेल र खेलाडीको स्तर विकास हुन नसकेको उनीहरु बताउँछन् ।
जीवन नै खेल क्षेत्रमा समर्पित गर्दै हालसम्म खेलकुदमै आवद्ध भइ पार्टीलाई सहयोग पु¥याउँदै आएको तर, हाल खेलकुदको बोर्डमा नियुक्त गर्ने समयमा खेल क्षेत्र बाहिरका लाई नियुक्त गरेको विरोध गर्दै कांग्रेस आवद्ध सुनसरीका किशोर राई र मोरङका सुनिल श्रेष्ठले पार्टी र संगठन परित्याग गरेको सामाजिक सञ्जालमार्फत घोषण गरेका छन् ।
एमालेभित्र पनि असन्तुष्टी रहे पनि उनीहरुले बाहिर सार्वजनिक गरेका छैनन् । उनीहरुमध्ये केहीको नाम लाइन रहे पनि अन्तिम समयमा आएर कटौती परेको प्रति असन्तुष्टि जनाएका छन् ।
प्रकाशित: १४ जेष्ठ २०८३ २०:३१ बिहीबार