खेल

भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

सुरुवाती झड्काका बाबजुद मध्यक्रममा बेन चार्ल्सवर्थ र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रनको योगफल तयार पार्‍यो।

काठमाडौंको सुरुवात निकै खराब रह्यो। ओपनर आकाश त्रिपाठी पहिलो ओभरमै शून्यमा आउट भए। राशिद खान (७), जोन सिम्पसन (२) र मोहम्मद आदिल आलम (७) ले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मिलिन्द कुमार १३ रनमा आउट हुँदा काठमाडौँ १३.३ ओभरमा ७९–५ को नाजुक अवस्थामा पुगेको थियो।

तर, छैटौँ विकेटका लागि ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीले ७६ रनको सानदार साझेदारी गर्दै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याए।

दबाबपूर्ण अवस्थामा क्रिजमा आएका भीम सार्कीले विस्फोटक ब्याटिङ गरे। उनले मात्र १९ बलमा अर्धशतक पूरा गरे। भीमले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए। उनी १९.४ ओभरमा धनञ्जय लक्षणको बलमा आउट भए।

यस्तै, एक छेउबाट इनिङ सम्हालेका बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रनको योगदान दिए। उनी १८.५ ओभरमा विपिन खत्रीको बलमा आउट भए। कप्तान करन केसीले २ बलमा ४ रन बनाएर अन्तिम बलमा आउट भए। सनी पटेल २ रनमा अविजित रहे।

पोखरा एभेन्जर्सका लागि धनञ्जय लक्षणले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित मात्र १६ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। यस्तै, कप्तान कुशल भुर्तेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट हात पारे।

अब पोखरा एभेन्जर्स १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिँदैछ।

प्रकाशित: १८ मंसिर २०८२ १३:३४ बिहीबार